तपाईँ सुन्दै हुनुहुन्छः

भुटानी शरणार्थी नेता डा. भम्पा राईको निधन

झापा । भुटानी शरणार्थी नेता डा. भम्पा राईको निधन भएको छ । आज बिहान २ बजेर ४० मिनेटमा ७५ वर्षीय राईको निधन भएको हो ।

उहाँको विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ । एक हप्ता अघि दमकको एक अस्पतालमा हर्नियाको शल्यक्रिया गराउनुभएका राईको शनिबार दिउँसो मुटुको चाल कम भएको थियो ।

३० वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आउनुभएका राई दमकमा एक्लै बस्दै आउनुभएको थियो । दुई वर्षअघि श्रीमती उर्मिलाको निधन भएपछि उहाँ दमकको डेरामा एक्लै बस्दै आउनुभएको थियो ।

राई लामो समयदेखि पेटसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । तीन वर्षअघि आन्द्रा फुटेर रगत बग्दा उहाँ लामो समय थलिनुभएको थियो । उहाँ पछिल्लो एक वर्षदेखि हर्नियाबाट पनि पीडित हुनुहुन्थ्यो ।

किराँत संस्कार अनुसार राईको आजै पाडाजुँगीस्थित रतुवामाई जङ्गलमा अन्त्येष्टि गरिएको परिवारले जानकारी गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button