धनुषाका पालिकाहरू गाउँ तथा नगर परिषद् गर्ने तयारीमा

जनकपुरधाम । धनुषाका पालिकाहरू अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको गाउँ तथा नगर परिषद् गर्ने तयारीमा जुटेका छन् ।
जिल्लामा रहेको १८ पालिकाहरू अहिले पालिकाको गाउँ तथा नगर परिषद् गर्नका लागि आन्तरिक गृहकार्यमा जुटेका हुन ।
असार १५ गते भित्रमा गाउँ तथा नगर परिषद् गर्नु पर्ने प्रावधान भए अनुसार पालिकाहरूले परिषद् बैठकको तयारी गरेका छन् ।
त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले पनि नगर परिषद् गर्नका लागि आन्तरिक तयारीमा जुटेको छ । उपमहानगरपालिकाले नगर परिषद्मा पेश गर्ने बजेटको विषयमा उपमहानगरपालिकाले विभिन्न व्यक्तिहरूसँग छलफल गर्ने काम गरिरहेको छ । यसका लागि नगरप्रमुख, उपप्रमुख सहितका उच्च पदाधिकारीहरू लागि परेका छन् ।
नगर परिषद्का लागि असार ९ गते गर्ने अनौपचारिक छलफल भए पनि आज साँझ बस्ने नगर कार्यपालिकाको बैठकले नगर परिषद् बैठक मिति तय गर्ने जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जानकारी दिनुभयो ।
नेपालको नयाँ संविधान २०७२ जारी भएपछिको पहिलो कार्यकाल पालिकाहरूले काम गरेको र दोस्रो कार्यकालका लागि निर्वाचित भएका जनप्रतिनिधिहरूमा नयाँ जोस एवं जाँगर भएकाले यस पटकको नगर तथा गाउँ परिषद्लाई ऐतिहासिक बनाउने तयारी भइरहेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको समग्र विकासमा केन्द्रित भएर नगरको नीति तथा कार्यक्रम सहितको बजेट ल्याउने तयारीमा जनकपुरधाम उपमहानगरपालिका लागि परेको नगरप्रमुख साहले जानकारी दिनुभयो ।
धनुषाका अन्य पालिकाहरूले पनि नगर तथा गाउँ परिषद् गर्नका लागि तयारी गरिरहेको विभिन्न पालिकाहरूले जानकारी दिएका छन् । धनुषाका क्षिरेश्वरनाथ नगरपालिकाले पनि नगर परिषद् गर्नका लागि तयारी गरिरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद घिमिरेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्