तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशलाई समृद्धिको मार्गमा अगाडि बढाउनेतर्फ बजेट केन्द्रित छ : अर्थमन्त्री बराल

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले प्रदेशलाई आत्मनिर्भर बनाउने र समृद्धिको मार्गमा अगाडि बढाउनेतर्फ प्रदेश सरकारको बजेट केन्द्रित रहेको बताउनुभएको छ । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री बरालले विविध चाहनालाई नसमेटिएको भएता पनि आधारभूत आवश्यकतालाई सम्बोधन गर्दै प्रदेशलाई समृद्धिको मार्गमा हिड्याउने बजेट ल्याएको बताउनुभयो । 

“हाम्रा आवश्यकता असीमित छन्, चाहनाहरू धेरै छन् तर स्रोतको सीमितता छ, उहाँले भन्नुभयो, सीमित स्रोतबाट आवश्यकताहरूलाई प्राथमिकिकरण गरी हाम्रा आवश्यकताहरू क्रमशः पुरा गर्दै लैजानुपर्ने वर्तमानको यथार्थ हो” त्यसैले प्रस्तुत बजेटले सबैका ती विविध चाहनालाई नसमेटेको हुनसक्छ तर आधारभूत आवश्यकतालाई सम्बोधन गर्दै प्रदेशलाई आगामी दिनमा आत्मनिर्भर बनाउने र समृद्धिको मार्गमा अगाडि बढाउनेतर्फ यो बजेट केन्द्रित रहेका छ” ।

अन्तरसरकारी समन्वय र पारस्परिक सहयोगलाई प्रभावकारी बनाइ सङ्घीयताको  सुदृढ कार्यान्वयन तथा उत्पादन एवं उत्पादकत्व अभिवृद्धि गरी प्रदेश समृद्धिका आधार तयार गर्ने उद्देश्य सहित बजेट ल्याएको बताउँदै मन्त्री बरालले बजेटले मुख्यतः कृषि प्रवर्द्धन र व्यावसायिक उत्पादन, कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार, आधारभूत खानेपानीमा सबैको पहुँचको सुनिश्चितता, आधारभूत स्वास्थ्य, पूर्वाधार विकास, समावेशिता र सामाजिक न्यायलाई आफ्नो प्राथमिकतामा राखेको बताउनुभयो ।

बजेट तयार गर्दा आफूहरूले गण्डकी प्रदेश सरकारको चालु आवको नीति तथा कार्यक्रम लाई मुख्य आधार मानेको बताउनुभयो । उहाँले  नेपालको संविधान, पन्ध्रौँ पञ्चवर्षीय योजना, गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजना, राजनीतिक दल, विज्ञ लगायत सबै क्षेत्रका सरोकारवालाहरूको सुझावलाई ध्यान दिँदै विषयगत मन्त्रालयबाट पेश भएका कार्यक्रमलाई प्राथमिकीकरण गरी बजेट ल्याएको स्पष्ट पार्नुभयो ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९∕८० को लागि कुल रु ३५ अर्ब ९० करोड ९० लाख बराबरको बजेट ल्याएको छ । 

एक निर्वाचन क्षेत्र एक कृषि सडक, सङ्घ प्रदेश र स्थानीय तहसँगको साझेदारीमा कृषि उत्पादनमा आत्मनिर्भर कार्यक्रम, कृषक टप अप ग्राण्ट, लिफ्टिङ्ग खानेपानीमा लाग्ने विद्युत् महसुलमा छुट, नदिमा आधारित विकास गुरुयोजना, मुस्ताङ काली गण्डकीको जग्गा उकास र स्याउ खेती, जलाशयमा आधारित सिँचाइ आयोजनाहरू, विद्युतीय चार्जिङ्ग स्टेशन स्थापना र विद्युतीय सवारी साधनको प्रयोगमा जोड, सिक्दै कमाउँदै कार्यक्रम, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण, डायलासिस सेवा विस्तार, लमजुङ अस्पताललाई सरकारीकरण गर्ने, बाग्लुङ्ग धौलागिरि अस्पतालको लागि सिटी स्क्यान खरिद, सामुदायिक वन पोखरी  कार्यक्रम, पोखरा महानगरपालिका सँगको साझेदारीमा बसपार्क व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन जस्ता नितान्त नयाँ योजनाहरू समावेश गरी बजेट ल्याएको अर्थ मन्त्री बरालको दाबी छ । 

महत्त्वपूर्ण रहेका विगतदेखि सञ्चालनमा रहेका प्रदेश गौरवका सडक, एक निर्वाचन क्षेत्र एक सडक, रणनीतिक महत्त्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडक, विभिन्न प्रादेशिक सडक, सडक पुल र झोलुङ्गे पुल लगायतका पूर्वाधार निर्माणका कार्यक्रमहरूलाई निरन्तरता देखि प्रदेश विकासको गौरव गण्डकी विश्वविद्यालयको प्रभावकारी सञ्चालन व्यवस्थापन, सरुवा तथा सङ्क्रामक रोग अस्पतालको सुदृढीकरण, प्रदेश प्रशिक्षण प्रतिष्ठान, गण्डकी प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रतिस्थापन जस्ता नियमितताका कार्यक्रमहरू पनि प्रस्ताव गरिएको उहाँको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button