तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षामन्त्री पौडेललाई थप दुई र परराष्ट्रमन्त्री खड्कालाई थप एक मन्त्रालयको जिम्मा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई थप दुई मन्त्रालयको र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप एक मन्त्रालयको कार्यभार तोक्नुभएको छ । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कार्यभार ताकिएका बारेमा प्राप्त पत्रको ब्यहोरा सदनलाई जानकारी गराउनुभयो । 

तीन मन्त्री फरक फरक कार्यक्रममा सहभागी हुन विदेश प्रस्थान गर्नुभएकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री देउवाले कार्यभार तोक्नुभएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ युरोप भ्रमणमा जानुभएकाले उहाँको अनुपस्थितिमा उहाँले सम्हाल्दै आउनुभएको मन्त्रालयको कार्यभार शिक्षामन्त्री पौडेललाई तोकिएको हो । त्यस्तै प्रधानमन्त्रीले युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराज रसियामा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएकाले उहाँले सम्हाल्दै आउनुभएको जिम्मेवारी पनि मन्त्री पौडेललाई तोक्नुभएको छ । 

त्यस्तै प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू स्वीजरल्याडको जेनेभामा आयोजना हुने विश्व व्यापार सङ्घको कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएकाले उहाँले सम्हाल्दै आउनुभएको मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री नारायण खड्कालाई तोक्नुभएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button