तनहुँमा मतदाता नामावली सङ्कलन सुरु

तनहुँ । जिल्ला निर्वाचन कार्यालय तनहुँले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाता नामावली सङ्कलन कार्य असार १ गते बुधवारदेखि सुरु गरेको छ ।
जिल्लामा बुधवारबाट मतदाता नामावली सङ्कलन कार्य सुरु भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
“अबको केही महिनामा नै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा हुने सम्भावना छ, त्यो निर्वाचनलाई लक्षित गरी आजदेखि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन सुरु गरेका हौँ”, प्रमुख ढकालले भन्नुभयो ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन कहिले हुन्छ भन्ने टुङ्गो लागिसकेको छैन । स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने भनेर सरकारले गत माघ २४ गते मिति घोषणा गरेपछि माघ २५ गतेदेखि मतदाता नामावली सङ्कलन स्थगित गरिएको थियो । स्थगित भएको उक्त काम बुधवारबाट पुनः सुरु गर्न लागिएको हो ।
पहिलो दिन बुधवार १ सय २६ जनाले मतदाता नामावली दर्ता गराएको प्रमुख ढकालले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय तनहुँमा ७४ जना र जिल्ला निर्वाचन कार्यालय तनहुँमा ५२ जनाले नाम दर्ता गराएका हुन ।
विभिन्न पेशा व्यवसाय तथा अध्ययनको सिलसिलामा आफ्नो स्थायी ठेगानाभन्दा अन्यत्र अस्थायी रुपमा बसोबास गरेकाहरूले पनि आफू बसेकै स्थानबाट मतदाता नामावलीमा आफ्नो नाम लेखाउन सक्ने छन् । तर उनीहरूले मतदान भने आफ्नो मतदाता नामावली जहाँ छ त्यहीँबाटै गर्नुपर्ने छ ।
आफ्नो नाम, थर, लिङ्ग, जन्मस्थान लगायतको कुनै पनि विवरणमा त्रुटि भएको भए यही बेला त्यसलाई सच्याउन सकिने निर्वाचन कार्यालयले जनाएको छ ।
आयोगले १६ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न योग्य मान्दै आएको छ भने मतदानका लागि तोकिएको मितिमा १८ वर्ष उमेर पुगेको हुनुपर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्