स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई
मकवानपुर । चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।
हेटौँडा–५ स्थित, पिप्ले–क्याम्पा रङ्गशालामा भएको फाइनलमा घरेलु टोली एफसी विजय यूथलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो पटक उपाधि चुमेको हो ।
उपाधिसँगै साबिक विजेता आर्मीले १५ लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता बनेको घरेलु टोली विजय यूथले १० लाख रुपैयाँमा चित्त बुझायो । यसअघि भएको तेस्रो संस्करणमा पनि आर्मीले उपाधि चुम्दा घरेलु टोली उपविजेता बनेको थियो ।

आर्मीको जितमा कप्तान भरत खवास र कमल बहादुर थापाले एक/एक गोल गरेका थिए भने घरेलु टोली विजय यूथका तर्फबाट डोना थापाले पेनाल्टीमार्फत सान्त्वना गोल फर्काएका थिए ।
खेलको १५ औँ मिनेटमा कप्तान भरत खवासको गोलबाट आर्मीले सुरुवाती अग्रता लिएको थियो । उनले टेक बहादुर बुढाथोकीको पासमालाई सुन्दर फिनिसको नमुना पेश गरे । त्यसको १० मिनेटपछि घरेलु टोली बराबरी गोल फर्काउन सफल भयो । युद्ध शाहीले पेनाल्टी बक्समा विमल रानालाई फउल गरेपछि रेफ्रीले विजय यूथलाई पेनाल्टी प्रदान गर्दा डोना थापाले गोल गरे ।
दोस्रो हाफको सुरुमै कमल बहादुर थापाले गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए । लगत्तै आर्मीले पेनाल्टीको अवसर पाए पनि दिनेश हेन्जनले गोल गर्न नसक्दा आर्मी थप अग्रता लिनबाट चुक्यो । विजय यूथका कप्तान तथा गोलरक्षक अशोक बरालले सन्तोष केसीलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा दिनेशले गोल गर्न सकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा आर्मी विजयी हुँदै च्याम्पियन बन्न सफल भयो ।
चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै घरेलु टोली विजय यूथका क्याप्टेन अशोक बरालले बुलेट बाइक पाएका छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका बिकेश कुथु घोषित भए ।
उत्कृष्ट मिडफिल्डरमा आर्मीका विवेक बस्नेत, स्ट्राइकरमा आर्मीकै दिनेश हेम्जन र प्रशिक्षकमा आर्मीका नवीन न्यौपाने घोषित भए । विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाएका छन् ।
मकवानपुरका १० वटै स्थानीय तहको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगितामा देशका शीर्ष क्लबसहित १२ टोलीको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्