मानव बस्तीमा फेला परेको चितुवा नियन्त्रणमा
सुनसरी । सुनसरीको इटहरीमा मानव बस्तीमा फेला परेको चितुवा नियन्त्रणमा लिइएको छ । इटहरी ६ का मनोहर कार्कीको घरमा पसेको चितुवा नियन्त्रणमा लिइएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी खगेन्द्र खड्काले वन्यजन्तु विज्ञको टोलीले चितुवा नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा प्रदेशका वन्यजन्तु विज्ञ पुरुषोत्तम पाण्डे र कोसी टप्पु वन्यजन्तु आरक्षको टोलीले चितुवा नियन्त्रणमा लिएकोले बिहानैदेखि त्रासमा रहेको बस्ती सामान्य अवस्थामा फर्किएको खड्काले बताउनुभयो ।
नियन्त्रणमा लिइएको चितुवा जिल्ला वन कार्यालयको जिम्मा लगाइएको र औषधी उपचारपछि पुनः जङ्गलमा छाडिने खड्काले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्