चाँगुनारायण नगरपालिकाका उपप्रमुखद्वारा आफ्नो सुविधाको गाडी अस्पताललाई हस्तान्तरण

भक्तपुर । कतिपय जनप्रतिनिधि सुविधामुखी भए भन्ने जनगुनासो सुनिन्छ । उनीहरूका महँगा गाडी चढ्ने मोह पनि बेलाबखत चर्चामा आएकै हुन् । तर सबै जनप्रतिनिधि उस्तै सुविधा भोगी सोच र शैलीका हुन्छन् भन्ने पनि होइन । कतिपय त्यागका नमुना पनि छन् ।
यसैबीच चाँगुनारायण नगरपालिकाले यस्ता जनप्रतिनिधि पाएको छ जसले आफ्नो सेवा सुविधा समाजको हितको लागि प्रयोग गर्न दिनुभएको छ । उहाँ हुनुहुन्छ, उपप्रमुख रमेश बुढाथोकी ।
उपप्रमुख बुढाथोकीले आफ्नो पूर्व घोषणा अनुरूप आफूले नगरपालिकाबाट पाउने गाडी सुविधा नगरपालिकाले सञ्चालन गरेको चाँगुनारायण अस्पताललाई हस्तान्तरण गर्नुभएको छ ।
उहाँले निर्वाचित हुनुअघि नगरपालिकाबाट आउने सेवा सुविधालगायत तलब भत्ता नलिने घोषणा गर्नुभएको थियो ।
उहाँले एक कार्यक्रमबीच बा२झ १६२३ नं.को गाडी चाँगुनारायण अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गर्नुभएको छ ।
उपप्रमुख बुढाथोकीले उक्त गाडी नगर क्षेत्रभित्र रहेका वृद्धवृद्धा, अपाङ्ग,अशक्त, दिर्घरोगी, असहाय बिरामीहरूलाई घरदैलोमै गई चिकित्सकीय सेवा प्रदान गर्ने प्रयोजनले अस्पताललाई हस्तान्तरण गरेको बताउनुभयो ।
उहाँले आफूले पाउने तलब भत्ता पनि छुट्टै कोष खडा गर्ने बताउँदै नगर क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठन, एकल महिला, अपाङ्गता तथा अशक्त व्यक्तिहरूको वृद्धि विकासको क्षेत्रमा, महिला उद्यमशीलता एवं स्वरोजगारको क्षेत्रमा खर्च गर्ने बताउनुभयो ।
बुढाथोकी नेकपा एमालेबाट निर्वाचित हुनुभएको हो । उहाँले निजी गाडी सरकारी कामकाजको लागि प्रयोग गरिरहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्