तपाईँ सुन्दै हुनुहुन्छः

सन् २०२५ सम्ममा हरेक नेपालीको घर घरमा सूचना प्रविधिको पहुँच पुर्‍याइने : मन्त्री कार्की 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की रुवाण्डामा आयोजित विश्व दूरसञ्चार विकास सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किनुभएको छ । 

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै सञ्चार मन्त्री कार्कीले सन् २०२५ सम्ममा  हरेक नेपालीको घर घरमा सूचना प्रविधिको पहुँच पुर्‍याउने प्रतिबद्धता सम्मेलनमा नेपाल सरकारका तर्फबाट आफूले व्यक्त गरेको बताउनुभयो । 

सञ्चारमन्त्री कार्कीले भौगोलिक विकटता र गरिबीका बाबजुद पनि सूचना प्रविधिको विकासमा नेपाल सरकारले प्रतिबद्धता पुरा गर्ने पनि बताउनुभयो । 

सम्मेलनका क्रममा सञ्चार मन्त्री कार्कीले जापान, अमेरिका, चीन, लिथुवानिया र अजरबैजानका समकक्षी तथा विशिष्ट सहभागीहरूसँग भेटघाट गरी दूरसञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा दुई पक्षीय हित र सहयोगका सम्बन्धमा छलफल गर्नुभएको थियो । 

रुवाण्डाको किगालीमा आयोजित विश्व दूरसञ्चार विकास सम्मेलनमा नेपालका तर्फबाट सञ्चार मन्त्रीको भ्रमण टोलीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव विनोद प्रकाश सिंह, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडा सहभागी हुनुभएको थियो ।

तस्बिर : कबिन अधिकारी

प्रतिक्रिया राख्नुहोस्

Back to top button