धनुषाका सातपालिका विपतको उच्च जोखिममा
जनकपुरधाम । बाढीजन्य विपद्को दृष्टिकोणले धनुषाको १८ स्थानीय तहमध्ये सात वटा पालिका उच्च रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न नदीमा आउने बाढीका कारण नदी छेउछाउमा रहेको धनुषाको सात वटा पालिका उच्च जोखिममा रहेका छन् ।
धनुषाको कमला, शहिदनगर, सबैला नगरपालिका, नगराइन नगरपालिका, धनौजी, मुखियापट्टी मुसहरनियाँ र जनकनन्दनी गाउँपालिका बाढीजन्य विपद्को हिसाबले उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
बाढी पहिरोको उच्च जोखिममा रहेका स्थानीय तहका विभिन्न वडाले बर्सेनि डुबान र कटानको समस्या भोग्दै आएका छन् । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार बाढीजन्य विपद्को दृष्टिले धनुषाको पाँच पालिका मध्यम जोखिममा र छ पालिका न्यून जोखिममा रहेका छन् ।

जिल्लाको जनकपुरधाम उपमहानगरपालिका, गणेशमान चारनाथ, धनुषाधाम, विदेह नगरपालिका र औरही गाउँपालिका बाढीजन्य विपद्को दृष्टिले मध्यम जोखिममा राखेर जिल्ला विपद व्यवस्थापन समितिले समस्या आइपरेको खण्डमा क्षति न्यून गर्ने तयारी गरेको छ ।
क्षीरेश्वरनाथ, मिथिला विहारी, हंसपुर, मिथिला नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका, बटेश्वर गाउँपालिका न्यून जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । कमला, जमुनी, औरही, बहरी, बसही र जलाद नदी एवं खोलामा आउने बाढीका कारण बर्सेनि ठूलो मात्रामा धनजनको क्षति पुर्याउँदै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अघिल्लो वर्ष विपद्का कारण धनुषामा चार जनाको मृत्यु भएको भएको थियो भने करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको धनमाल क्षति भएको कार्यालयले जानकारी दिएको छ । विपद्मा परेर मृत्यु भएका चारै जनाको परिवारलाई नेपाल सरकारले एक लाख रुपैयाँको दरले राहत वितरण गरिसकेको धनुषाका प्रमुख जिल्ला अधिकारीले जानकारी दिनु भएको छ ।
यस्तै अघिल्लो वर्षको असिना पानी, हावाहुरी तथा बाढीबाट प्रभावित धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाका २ सय २१ घर परिवारलाई दुई बन्डलका दरले जस्तापाता गाउँपालिकासँग सहकार्य गरेर वितरण गर्ने काम सम्पन्न भइसकेको छ ।
गत वर्ष मात्र धनुषाको कमला नदिमा आएको बाढीका कारणले नदिको तटबन्ध कटान गर्नुका साथै धनुषा तथा सिराहा जोड्ने पुलको दुई वटा पिल्लर भासिएर क्षतिग्रस्त भएको थियो । अहिलेसम्म पनि पुलको पुनः निर्माण नभएका कारणले स्थानीयवासी चिन्तित बनेका छन् ।








प्रतिक्रिया राख्नुहोस्