तपाईँ सुन्दै हुनुहुन्छः

विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यास गर्ने तयारी 

सुनसरी । सुनसरीमा हुँदै आएको विभिन्न विपदबाट जोगिन र त्यसको पूर्व तयारी तथा व्यवस्थापन स्वरूप त्यस सम्बन्धी कृत्रिम घटना अभ्यास कोशी कटानमा गर्ने भएको छ । 

असार १ गते गर्ने विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यासको स्थान कोशी गाउँपालिका ४ नम्बर वडाको श्रीपुर कोशी कटानको बिहीबार स्थलगत निरीक्षण गरिएको छ । 

बिहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको पूर्व तयारीको बैठकले कार्यक्रम प्रभावकारी बनाउने निर्णय गर्दै कार्यक्रम स्थलको स्थलगत निरीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिनुभयो ।

कोशी गाउँपालिका वडा नम्बर ४ स्थित कोशी कटान क्षेत्रमा विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यास सम्बन्धी १ दिने कार्यशाला गर्ने भएकोले पूर्व तयारीको बैठक तथा कार्यक्रम स्थलको स्थलगत निरीक्षण समेत गरिएको सहायक प्रजिअ माझीले जानकारी दिनुभयो ।

बैठकमा दिएको जानकारी अनुसार सुक्खा मौसमको आगलागी, वर्षाको बेलाको बाढी र त्यसपछि हुने सर्प दंश सम्बन्धी कृत्रिम घटना अभ्यास गर्ने निर्णय भएको र त्यसको प्रमुख जिम्मेवारी नेपाली सेना कृष्ण दल गुल्म र अन्य सहयोग कोशी तथा भोक्राहा नरसिंह गाउँपालिकाले गर्ने जनाएको छ । 

कृत्रिम घटना अभ्यासका लागि दुई वडा दमकल, ६ वटा एम्बुलेन्स, एउटा एक्स्काभेटर, दुई वडा रबर बोट, एउटा मोटर वोट, लाइफ ज्याकेट सहितको बन्दोबस्ती गर्ने तयारी भएको जनाएको छ । 

जिल्लाका १२ वटै स्थानीय तहका बिपत व्यवस्थापन समर्पक व्यक्तिहरूको सहभागितामा बैठक बसी सो बैठकबाट प्रभावकारी कृत्रिम घटना अभ्यास कोशी कटानमा गर्ने र त्यसमा जिल्लाका सम्पूर्ण सरोकारवाला, जनप्रतिनिधिहरू, सबै सरकारी कार्यालय, विपद्सँग सम्बन्धित सबै सङ्घ संस्था, सम्पूर्ण राजनैतिक दल,  मानव अधिकारकर्मी, पत्रकार, आम जनसमुदायलाई सहभागिताको लागि अपिल गरिएको सहायक प्रजिअ माझीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button