चालु आवमा अनुगमनका क्रममा १ हजार २ सय १ फर्मलाई कारबाही

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा चालु आर्थिक वर्षको हालसम्म १ हजार २ सय १ फर्महरूलाई कारबाही गरी १ करोड ५० लाख ८६ हजार रुपैयाँ जरिवाना गरेको छ ।
विभागका महानिर्देशक लिलाप्रसाद शर्माले चालु आर्थिक वर्षको हालसम्म कुल २ हजार ७ सय १३ फर्ममा अनुगमन गरिएको मध्ये १ हजार २ सय १ फर्मलाई कारबाही गरी जरिवाना गरिएको र कैफियत देखिएका अन्य व्यापारिक फर्महरूलाई चेतावनी स्वरूप सचेत गराइएको जानकारी दिनुभयो ।
उहाँले ज्येष्ठ महिनाको २५ गतेसम्म मात्रै २ सय ७६ फर्मलाई अनुगमन गरी १६ लाख र वैशाख महिनामा ३ सय २ फर्महरूलाई अनुगमन गरी १६ लाख ३५ हजार रुपैयाँ जरिवाना गरिएको बताउनुभयो ।
त्यसैगरी, २०७८ को चैत्र महिनामा विभिन्न १ सय ५१ फर्महरूलाई अनुगमन गरी रु.२१ लाख ४० हजार र फाल्गुन मसान्तसम्म विभिन्न १ हजार ९ सय ७९ फर्महरूलाई अनुगमन गरी ९७ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको समेत महानिर्देशक शर्माले जानकारी दिनुभयो ।
उहाँले विभागले हाल अत्यावश्यकीय उपभोग्य वस्तुहरूसहित मूल्य, गुणस्तर तथा मौज्दातसँग सम्बन्धित उच्च जोखिम भएका वस्तु, फर्म तथा क्षेत्रमा अनुगमन केन्द्रित गरेको बताउनुभयो ।
“विभिन्न समस्याका बाबजुद विभागको एकल तथा संयुक्त अनुगमन उल्लेख्य रूपले बढेको छ”, महानिर्देशक शर्माले भन्नुभयो, “हाल प्रक्रियामा रहेको संयुक्त अनुगमन निर्देशिका स्वीकृत भएपछि यो कार्य अझै प्रभावकारी हुने अपेक्षा गरेका छौँ ।”
महानिर्देशक शर्माले विभागले एक्लै तथा नेपाल आयल निगम, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधी व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभाग, वातावरण विभाग, स्वास्थ्य सेवा विभाग, जिल्ला प्रशासन कार्यालयसहित संयुक्त रुपमा समेत अनुगमन भइरहेकोले जानकारी दिनुभयो ।
“हामीले व्यापारीहरूलाई अनुचित व्यापारिक क्रियाकलापमा नलाग्न पटक पटक अनुरोध गर्नुका साथै आम उपभोक्तालाई पनि त्यस्ता क्रियाकलाप भएको पाइएमा विभागको पैसा नलाग्ने टोल फ्री नं. ११३७ मा जानकारी दिन अपिल गरिरहेका छौँ”, महानिर्देशक शर्माको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्