तपाईँ सुन्दै हुनुहुन्छः

लुक्ला विमानस्थल पाँच दिनदेखि अवरुद्ध, पर्यटक अलपत्र

सोलुखुम्बु  । सोलुखुम्बुको अति व्यस्त पर्यटकीय क्षेत्रमा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्ला विमानस्थल पाँच दिनदेखि लगातार मौसममा आएको खराबीका कारण सबै उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रुहरू अलपत्र परेका छन् । 

मौसममा सुधार नभएपछि लगातार उडान हुन नसकेको हो । दैनिक जसो दर्जनौँ उडान हुने खुम्बु क्षेत्रको एक मात्र विमानस्थल लुक्लामा सबै उडान अवरुद्ध भएपछि खुम्बु भ्रमण गरी लुक्लाबाट फर्कने तथा काठमाडौँबाट लुक्ला आउने दुवै तिरका यात्रु अलपत्र बनेका हुन । 

लुक्लामा मौसममा सुधार आउला र काठमाडौँ जान पाइएला भनेर विमान कुरेर यात्रुहरू बसिरहेका छन् । 

पर्यटकीय विमानस्थल लुक्लामा बाक्लो कुइरो र वर्षाका कारण उडान प्रभावित भएको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख द्वारिका अछामी नेपालीले जानकारी दिनुभयो । 

उहाँका अनुसार १० दिनयता मौसम प्रतिकुलताका कारण उडान प्रभावित बन्दै आएकोमा पाँच दिनदेखि पूर्ण रुपमा हवाईजहाज र हेलिकप्टरले समेत कुनै उडान हुन सकेको छैन ।

 

अहिले पर्यटकीय सिजनको अन्त्य हुँदै गएको र हिमाल आरोहण गरी फर्कने यात्रु समस्यामा रहेको उहाँले बताउनुभयो ।

लुक्लामा तारा एयर, समिट एयरलगायतले उडान गर्ने गरेका छन् । 

तत्काल मौसममा सुधार हुने अवस्था नदेखिएपछि कतिपय यात्रुहरू पैदलमार्फत सदरमुकाम सल्लेरी हुँदै सडक मार्गबाट गन्तव्य तय गरेका छन् । लामो समय लाग्ने सल्लेरीसम्मको यात्रा समेत त्यति सहज नभएको यात्रुहरू बताएका छन् । 

विमानस्थलमा भिजिबिलिटी अत्यन्त न्यून रहेकोले हवाई जहाज तथा हेलिकप्टर उडान तथा अवतरण हुन नसकेको हो । 

विमानस्थल वरपरको भिजिबिलिटी ५० मिटरभन्दा तल रहेको छ । जसलाई उडान क्षेत्रमा निल मानिन्छ । उडानका लागि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी आवश्यक पर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button