तपाईँ सुन्दै हुनुहुन्छः

नदी तटबन्धको काम नसकिँदा जोखिम बढ्ने

कैलाली । कर्णाली नदी छेउको कैलालीतर्फको भागमा निर्माणाधीन तटबन्धको काम पानीको सतह बढ्दा प्रभावित भएको छ ।

बर्दियातर्फको कर्णाली नदीको भागमा तटबन्ध निर्माण गर्न गरिएको पानी डाइभर्सन (पानीको बहाव परिवर्तन) का कारण कैलालीतर्फको तटबन्ध गर्नुपर्ने क्षेत्रमा पानीको सतह बढेर काम प्रभावित भएको बताइएको छ ।

वर्षायाम सुरु हुन लाग्दा तटबन्धको काममा पुगिरहेको अवरोधले कैलालीतर्फको भागमा यस वर्ष पनि विपद्को जोखिम बढ्ने देखिएको छ । कैलालीतर्फ तटबन्ध निर्माण भइरहेको ठाउँमा पानीको सतह बढ्दा पुगेको अवरोधले काम पूरा हुन नसकेर सो क्षेत्रमा जोखिम बढ्ने देखिएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो ।

कैलाली र बर्दिया जिल्लाको सीमा नदी कर्णालीको बर्दिया राजपुरतर्फको भागमा नदी तटबन्धसम्बन्धी काम सुस्त गतिमा भइरहेको छ । पानीको बहाव परिवर्तन गरी पालैपालो दुवैतर्फको भागमा नदी तटबन्धको काम गर्नुपर्ने भए पनि बर्दियातर्फको भागमा काम नसकिँदा कैलालीतर्फको भागमा निर्माणाधीन नदी तटबन्धको काम प्रभावित भइरहेको जनाइएको छ ।

हरेक वर्षायाममा कर्णाली नदीमा आउने बाढीले दुवै जिल्लाको नदी आसपासको मानव बस्ती बाढी, डुबान र कटानको उच्च जोखिममा रहने गरेको छ । सो क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि भइरहेका कामको कैलालीका प्रजिअ थापाको नेतृत्वको टोलीले आज स्थलगत अध्ययन अवलोकन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी थापाको नेतृत्वमा रहेको टोलीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका जिल्लास्थित कार्यालयका प्रमुख सहभागी हुनुहुन्थ्यो ।

निर्माणाधीन राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कर्णाली नदीको कैलालीतर्फको भागमा नदी तटबन्धको काम भइरहेको छ । आयोजनाको डिभिजनल इन्जिनियर विराट ज्ञवालीले कैलालीतर्फको भागको तटबन्ध गर्नुपर्ने ठाउँमा पानीको सतह बढ्दा काम प्रभावित भइरहेको बताउनुभयो ।

स्थानीय पालिकासँग समन्वय गरेर सो क्षेत्रमा विपद् जोखिमको न्यूनीकरणका लागि आपत्कालीन कार्य गर्ने योजना रहेको इन्जिनियर ज्ञवालीले बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button