तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/ ०८० का लागि प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम आजको बैठकबाट सर्वसम्मतिले पारित भएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले जेठ २२ गते प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

नीति तथा कार्यक्रममा भएका कमीकमजोरीबारे प्रदेश सभा सदस्यहरूले उठाउनुभएको मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिनु भएपछि नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको नीति तथा कार्यक्रममा भएका कमी कमजोरीहरूलाई बजेटमा समावेश गरेर ल्याउने प्रतिबद्धता जनाएपछि नेकपा एमाले तथा लोसपाका प्रदेश सभाका सदस्यहरूले दर्ता गराउनुभएको संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो । त्यसपछि नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको प्रदेश सभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रममा नेकपा एमालेका प्रदेश सभाका सदस्य सुन्दर बहादुर विश्वकर्मा, जसपाका प्रदेश सभाका सदस्य बच्चा राउत अहिर, लोसपाका प्रदेश सभाका सदस्यहरु परमेश्वर साह र वासुलाल साह कानूले संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो ।

प्रदेश सभाको बैठकमा गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले पेश गर्नुभएको सञ्चार ऐन २०७७ लाई पारित गर्न सभामुख सरोज कुमार यादवले निणयार्थ पेश गर्नुहुँदा उक्त ऐन सर्वसम्मतिले पारित भएको छ ।

प्रदेश सभाको अर्को बैठक जेठ २७ गते बस्ने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button