तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला समन्वय समिति सल्यानको निर्वाचनमा कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन

सल्यान । यही जेठ २९ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि सल्यानमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । केन्द्रले गरेको निर्देशन अनुसार पदको भागबन्डा गर्दै गठबन्धन गरेका हुन् । 

समन्वय समितिमा प्रमुख, उपप्रमुख सहित नौ पद रहेका छन् । गठबन्धन अनुसार काँग्रेसले समन्वय प्रमुख र तीन सदस्यसहित चार, माओवादीले उपप्रमुख र तीन सदस्यसहित चार र नेकपा समाजवादीले एक सदस्यमा सहमति भएको काँग्रेसका जिल्ला सभापति केश बहादुर विष्टले बताउनुभयो । 

काँग्रेसले बागचौर नगरपालिका–१२ बाफुखोलाका मानबहादुर ओलीलाई समन्वय प्रमुखका लागि छनोट गरेको छ । यस्तै सदस्यहरूमा शारदा नगरपालिका–१ का बालकृष्ण भण्डारी, छत्रेश्वरी गाउँपालिका–७ बाट हिरा कुमारी शाह चन्द र शारदा नगरपालिका–३ की विमला खत्रीलाई पठाउने निर्णय गरेको विष्टले बताउनु भयो । 

यस्तै माओवादी केन्द्रले उपप्रमुखमा दार्मा गाउँपालिका ४ का असविर बुढाथोकीलाई पठाउने निर्णय गरेको छ । सदस्यहरूमा शारदा नगरपालिका–९ बाट चेत बहादुर गिरी, बागचौर नगरपालिका–४ बाट विन्दु पुन र कुमाख गाउँपालिका–६ बाट जमुना सुनारलाई सिफारिस गरिएको माओवादी केन्द्र सल्यानका संयोजक कृति बहादुर पुनको भनाई छ । 

नेकपा एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष हरि केसीलाई सदस्यमा पठाउने भएको छ । 

केन्द्रको निर्देशन अनुसार कांग्रेस, माओवादी र समाजवादीले गठबन्धनलाई निरन्तरता दिएपछि एमाले भने एक्लै निर्वाचन जाने वा नजाने भन्ने विषयमा छलफल भइरहेको एमाले जिल्ला सचिव ओज बहादुर बुढाथोकीले बताउनुभयो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार जिल्लाका १० स्थानीयमा निर्वाचित प्रमुख र उपप्रमुख गरी २० मतदाता रहेका छन् । जसमा काँग्रेसको ८, माओवादी केन्द्रको ६ र एमालेको ५ र समाजवादीको एक जना रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button