तपाईँ सुन्दै हुनुहुन्छः

अछाम युवक हत्या प्रकरण : ४ दिनसम्म शव उठ्न सकेन, सडकदेखि सदनसम्म दोषीलाई कारबाहीको माग 

अछाम । अछाममा रहस्यमय ढङ्गले मृत फेला परेका एक किशोरको शव चार दिनसम्म उठ्न सकेको छैन । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का १६ वर्षीय विनोद शाहीको शनिबार बिहान घर नजिकैको भिरमा शव फेला परेको थियो । 

१७ जेठको साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको झगडा पश्चात् बेपत्ता भएका शाहीको शव शनिबार बिहान स्थानीयले फेला पारेका थिए । मध्य पहाडी राजमार्गमा पर्ने पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ४  कुच्चीको भिरको खोँचमा उहाँको शव फेला परेको थियो ।

मृतक किशोरका आफन्तले काँग्रेसको योजना अनुसार हत्या भएको आरोप लगाएका छन् । निर्वाचनका क्रममा शाही एमालेको प्रचारमा सक्रिय थिए । सोही कारण उनको हत्या भएको आरोप एमालेजनले लगाइरहेका हुन् । 

जेठ २१ गते बिहान करिब १० बजे नै किशोरको शव भेटिएको भए पनि मृतकका आफन्तले उनको शव उठाउन दिएका छैनन् । नगरप्रमुख अम्बिका चलाउनेसहित १८ जना विरुद्ध किटानी जाहेरी दर्ता गर्न खोजे पनि जिल्ला प्रहरी कार्यालय अछामले जाहेरी दर्ता गर्न नमानेको आफन्तले बताएका छन् । किटानी जाहेरी दर्ता गर्नुपर्ने र जाहेरी अनुसार आशङ्का गरिएकाहरूलाई नियन्त्रणमा लिनुपर्ने आफन्तको माग छ । 

पाँच दिनदेखि बेपत्ता रहेका किशोर मृत भेटिए पनि नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट विजयी जनप्रतिनिधि घटनास्थलमा एक पटक पनि उपस्थित नभएको नेकपा एमाले अछामका सचिवालय सदस्य तथा पञ्चदेवल विनायक नगरपालिकाका इन्चार्ज भीम विष्टले बताउनु भयो । उनीहरू नआएका कारण पनि शङ्का बढ्दै गएको उहाँको भनाई छ । 

विद्यार्थी आन्दोलित
विद्यामन्दिर उच्च माविमा कक्षा १० मा अध्ययनरत शाही शङ्कास्पद अवस्थामा मृत भेटिएपछि घटनाको चौतर्फी बिरोध भइरहेको छ । आज विद्यामन्दिर मावि विनायक, षोडशादेवि मावि मङ्गलसेन, अछाम बहुमुखी क्याम्पसका विद्यार्थीहरूले दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै आन्दोलन गरेका छन् ।  

विनोद शाहीका हत्यारालाई कारबाही गर, किटानी जाहेरी दर्ता गर लगायतका नारा र प्लेकार्ड सहित विद्यार्थीले प्रदर्शन गरेका हुन् । यता सदरमुकाम मङ्गलसेन विद्यार्थीहरूले जिल्ला प्रशासन तथा प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका छन् । रहस्यमय तरीकाले विद्यार्थीको हत्या हुँदा पनि दोषीलाई कारबाहीका लागि पहल नगरेको भन्दै आफूहरूले दबाब दिएको एक जना विद्यार्थी बालकृष्ण भण्डारीले बताउनु भयो । उनीहरूले मङ्गलसेनमा टायर बालेर सडक समेत अवरुद्ध पारेका छन् । 

संसदमा कारबाहीको माग
विनोद शाही हत्या घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सङ्घीय संसदमा पनि कुरा उठेको छ । अछाम जिल्लाबाट प्रतिनिधित्व गर्ने एमालेबाट निर्वाचित सांसद यज्ञ बहादुर बोगटी र काँग्रेसबाट सांसद रामबहादुर विष्टले घटनाको छिटो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । 

सोमबार संसदमा बोल्दै सांसद बोगटीले प्रहरी प्रशासनले महिला बालबालिका लगायत स्थानीयलाई दुर्व्यवहार गरेको र युवकको हत्या हुँदा समेत जाहेरी नलिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । यस्तै नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्नुहुने तथा घटना भएको वडाका स्थायी बासिन्दा रहनुभएका सांसद विष्टले निर्दोष बालकको रहस्यमय हत्या भएको लामो समय बितिसक्दा पनि दोषीलाई कारबाही नभएको भन्दै गृहमन्त्रीसँग जवाफको माग गर्नुभयो । 

विनायक तनावग्रस्त / मध्यपहाडी लोकमार्ग अवरुद्ध
बेपत्ता रहेका किशोर मृत भेटिएपश्चात् विनायक क्षेत्र तनावग्रस्त छ । विनायक बजारमा प्रदर्शन गर्नुका साथै मध्य पहाडी लोकमार्गमा आफन्तले चक्काजाम गर्दै आएका छन् । विनायक बजारमा चर्केको प्रदर्शन नियन्त्रणमा लिन शनिबार प्रहरीले ८ राउन्ड हवाई फायरसमेत गरेको थियो । अहिले पनि स्थानीयले सडक अवरुद्ध पार्दै प्रदर्शन गरिरहेका छन् । मध्य पहाडी लोकमार्ग शनिवारदेखि पूर्ण रुपमा अवरुद्ध छन् । यसका लागि यात्रुहरूले सास्ती भोगिरहेका छन् । यस्तै विनायक क्षेत्रका पसल, कार्यालयहरू पनि बन्द छन् ।

दोषीलाई कारबाही हुनुपर्ने मेयरको माग
पंचदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले किशोरको रहस्यमय मृत्यु भएको घटनाको सत्य तथ्य छानबिन गरेर दोषीलाई कडा कारबाहीको माग गर्नुभएको छ । एक विज्ञप्ति जारी गर्दै उहाँले घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्नुभएको छ । मेयर चलाउने असुरक्षाको कारण देखाउँदै सदरमुकाम मङ्गलसेनमा बसिरहनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button