सङ्गीत, कला र नाट्य क्षेत्रको विकासले समृद्ध समाजको निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्गीत तथा नाट्य क्षेत्रमा विशेष योगदान पुर्याउनुहुने विभिन्न सर्जकहरूलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७८ बाट सम्मानित गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ समर्पण समारोहमा राष्ट्रपति भण्डारीले सङ्गीत तथा नाट्य क्षेत्रमा विशेष योगदान पुर्याउनुहुने सर्जकहरूलाई जनही एक लाख एक रुपैयाँ नगद र ताम्र पत्रसहित सम्मानित गर्नुभयो ।
यसरी, सम्मानित हुनेहरूमा रङ्गमञ्च विधातर्फ ऋद्धिचरण श्रेष्ठ, शास्त्रीय सङ्गीततर्फ मोहनप्रसाद जोशी, नृत्य विधातर्फ बिणा राज भण्डारी, नाट्यतर्फ मनबहादुर मुखिया, सङ्गीत विधातर्फ, मोहनकृष्ण कार्की ढली र लोक सङ्गीत विधातर्फ अमर विरही गुरुङ रहनुभएको छ ।
सो अवसरमा सम्बोधन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्गीत, कला र नाट्य क्षेत्रको विकासले उन्नत र समृद्ध समाजको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
कोभिडका समयमा पनि सङ्गीत तथा नाट्य क्षेत्रका साधकहरूले विद्युतीय माध्यमहरूबाट भए पनि समाजमा जागरण फैलाउने काम गरेको स्मरण गर्नुहुँदै राष्ट्रपति भण्डारीले संस्कृति र सभ्यताको जगेर्नाका लागि कला साहित्य र सङ्गीतको संरक्षण र सम्बद्र्धन अत्यावश्यक भएको पनि बताउनुभयो ।
सोही अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायन, उपकुलपति हरिहर शर्मालगायतले कला सङ्गीत र नाट्य क्षेत्रको विकासका लागि राष्ट्रप्रमुखले देखाउनुभएको चासोबाट यस क्षेत्रको विकासका लागि अगाडि बढ्न आफूहरूलाई थप ऊर्जा मिलेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्