तपाईँ सुन्दै हुनुहुन्छः

शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायन रोक्न प्रधानमन्त्रीको आग्रह

धुलिखेल । प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै युवा जनशक्तिलाई उनीहरूको रुचि र विश्व बजारको मागअनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माण गर्न आग्रह गर्नुभएको छ ।

काठमाडौँ विश्वविद्यालयको दोस्रो चरणको २७ औँ दीक्षान्त समारोहलाई काभ्रेपलान्चोकको धुलिखेलमा सम्बोधन गर्दै उहाँले बढ्दो शैक्षिक बेरोजगारी हटाइ बौद्धिक प्रतिभा पलायनलाई नरोक्दासम्म मुलुकमा उज्यालो भविष्य सुनिश्चित गर्न नसकिने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले शिक्षित युवा जनशक्ति मुलुकको विकास र परिवर्तनका संवाहक भएकाले दीक्षित युवा जनशक्तिलाई त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । त्यसका लागि विश्वविद्यालयलाई आवश्यक पर्ने सहयोग र सहजीकरणका लागि सरकार तयार रहेको पनि उहाँले बताउनुभयो ।

उहाँले विश्वव्यापी रुपमा फैलिएको कोभिड– १९ को महामारीका बिचमा पनि आफ्ना शैक्षिक क्यालेन्डर अनुसार कार्यक्रमलाई निरन्तरता दिएको र बौद्धिक जनशक्तिको पलायनलाई रोक्न सीपयुक्त जनशक्ति उत्पादनमा लागेको भन्दै विश्वविद्यालयको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले आगामी दिनमा मुलुकभित्र रहेको खनिज पदार्थ परिचालन, प्रशोधन तथा जलविद्युत् व्यवस्थापन र जलवायु न्यूनीकरण, जैविक वनस्पतीय जडीबुटीको खोज र अनुसन्धान क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक सामाजिक विकासमा थप टेवा पुर्‍याउन पनि विश्वविद्यालयलाई आग्रह गर्नुभयो ।

साथै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय स्तरमा पहुँच पुर्‍याउने काममा थप अग्रसर हुन पनि विश्वविद्यालयलाई आग्रह गर्नुभयो । त्यस अवसरमा काठमाडौँ विश्वविद्यालयबाट विभिन्न कार्यक्रमबाट दीक्षित भएका एक हजार ७१५ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । दीक्षित हुने विदेशी विद्यार्थीमध्ये भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अस्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्याण्ड र जर्मनी गरी नौ देशका १५७ जना छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button