बञ्चरेडाडाँमा वैज्ञानिक तरीकाले फोहोर व्यवस्थापन हुन्छ : मन्त्री झाँक्री

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बञ्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताउनुभएको छ ।
काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उहाँले बञ्चरेडाडाँमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुने बताउनुभएको हो ।
बुधवार काठमाडौँ महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डङ्गोललाई मन्त्रालयमा बधाई ज्ञापन गर्नुहुँदै मन्त्री झाँक्रीले काठमाडौँको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैँ तयार रहेको समेत बताउनुभयो ।
“तत्काललाई काठमाडौँको फोहोर व्यवस्थापन बञ्चरेडाडाँमा पुरानै किसिमले गरेपनि यसको वैज्ञानिक व्यवस्थापन जरुरी छ । महानगरसँग मन्त्रालय सधैँ सँगसँगै मिलेर काम गर्न तयार छ ।”, उहाँले भन्नुभयो ।

उहाँले काठमाडौँ महानगरपालिकाभित्र युटिलिटी करिडोर निर्माणको काम समेत मन्त्रालयले गर्न लागेकाले सहकार्य जरुरी रहेको बताउनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले बञ्चरेडाडाडाँ ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जनका लागि मन्त्रालयसँग सहयोग गर्नुपर्ने भन्दै यस विषयमा मन्त्रालयले गरेका प्रतिबद्धता शतप्रतिशत कार्यान्वयन गर्न अनुरोध गर्नुभयो ।
यस्तै उहाँले काठमाडौँको फोहोर बञ्चरेडाडाँमा तत्काल कसरी फोहोर विसर्जन भन्ने विषयमा स्थानीयवासीलाई सहमत गर्न सकिन्छ भन्ने विषयमा पनि सहजीकरण गरिदिन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा बञ्चरेडाडाँ ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रवीन्द्र बोहराले बञ्चरेडाडाँमा तत्काल फोहोर व्यवस्थापन गर्न सकिने गरी काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले बञ्चरेडाडाँको दीर्घकालीन र वैज्ञानिक फोहोर व्यवस्थापनका लागि घरघरमै फोहोर वर्गीकरण गरेर सङ्कलन गर्न आवश्यक रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्