सङ्घीयताबारे फैल्याइएका भ्रमहरू हट्दै गएको छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सङ्घीयता कार्यान्वयनसँगै यसमा देखिएका भ्रमहरू हट्दै गएको बताउनुभएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा सांसद खिमलाल देवकोटाले प्रस्तुत गर्नुभएको सङ्घीयता कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री श्रेष्ठले समय क्रमसँगै सङ्घीयता बारे फैल्याइएका भ्रमहरू हट्दै गएको बताउनुभयो ।
मन्त्री श्रेष्ठले सङ्घ प्रदेश र स्थानीय तहमा देखिएको कामको दोहोरोपना अन्त्यका लागि कानुनी र संस्थागत पहल खोजिने बताउनुभयो ।
उहाँले हालै सम्पन्न स्थानीय तहको निर्वाचनले सङ्घीयतालाई थप मजबुत बनाउन महत्पूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सङ्घीय निजामती सेवा ऐनका सन्दर्भमा सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत प्राथमिकता पाएको भन्दै चाँडै नै सङ्घीय निजामती सेवा ऐन संसदमा दर्ता गरिने बताउनुभयो ।
प्रस्तावमाथि छलफलका क्रममा सांसदहरुले सरकारका तहहरुबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयका सिद्धान्तका आधारमा हुन नसकेको भन्दै सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

यस्तै, सांसदहरू जितेन्द्र नारायण देव, गोपी बहादुर सार्की अछामी, नन्दा चपाई, प्रमिला कुमारी र देवेन्द्र दाहालको समर्थनमा सभामा दर्ता गरिएको सांसद देवकोटाको १५ बुँदे सङ्कल्प प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको छ ।
सभाले प्रस्तावको कार्यान्वयनका लागि सरकारलाई निर्देशन समेत दिएको छ ।
सांसद देवकोटाको १५ बुँदे सङ्कल्प प्रस्ताव सांसदहरू जितेन्द्र नारायण देव, गोपीबहादुर सार्की अछामी, नन्दा चपाई, प्रमिला कुमारी र देवेन्द्र दाहालको समर्थनमा सभामा दर्ता गरिएको थियो ।
यसअघि शून्य समयमा बोल्दै सांसदहरूले वर्षायाम नजिकिएसँगै बाढी, पहिरो तथा डुबानबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व तयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसदहरूले प्राकृतिक प्रकोपबाट वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको भन्दै क्षति न्यूनीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एकीकृत समाजवादी)का सांसद नन्दा चपाईंले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेकपा (एमाले)का सांसद दीपा गुरुङले सडकसँग जोडिएका विद्युत्का तार हटाउन माग गर्नुभयो ।
नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले विश्वव्यापी फैलिएको मङ्कीपक्स रोग फैलन नदिन आवश्यक सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।
एमालेका सांसद दीलकुमारी रावल थापा (पार्वती)ले महिला हिंसाका घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गर्नुभयो ।
राष्ट्रियसभाको अर्को बैठक भोलि शुक्रवार दिउँसो १ः०० बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्