तपाईँ सुन्दै हुनुहुन्छः

आँखा शिविरमा ७९ जनाको मोतीबिन्दुको शल्यक्रिया

भोजपुर । भोजपुरमा सञ्चालन भएको आँखा शिविरमा ७९ जनाको मोतीबिन्दुको शल्यक्रिया भएको छ । 

जिल्लामा आँखाका बिरामीहरूको सङ्ख्या बढी नै देखिने गरेकाले नेपाल नेत्र ज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । 

भोजपुर नगरपालिका वडा नम्बर १२, पुरानोडवलीमा भएको शिविरमा ७९ जनाको मोतीबिन्दुको शल्यक्रिया र चार सय ५० जनाले आँखा जाँचको सेवा पाएको नेपाल नेत्र ज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्रका प्रमुख बिजय तामाङले जानकारी दिनुभयो । 

केन्द्रले जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिकामा समेत दुई दिने शिविर सञ्चालन गरेको थियो । 

विराटनगर आँखा अस्पतालका नेत्र विशेषज्ञ डा.सुनिता कोइराला सहितको टोलीले शिविरमा सेवा दिएको हो । 

जिल्लामा आँखाका रोगीहरूको सङ्ख्या बढी नै देखिने गरेकाले नेपाल नेत्र ज्योति सङ्घ भोजपुरले जिल्लाका ग्रामीण क्षेत्रहरूमा समेत नियमित आँखा परिक्षण शिविरहरू गर्दै आइरहेको संघका जिल्ला सभापति तेज मोक्तानले बताउनुभयो । 

“विगतमा सामान्य आँखा परीक्षणका लागि समेत हजारौँ खर्च गरेर अन्यत्र जानु पर्ने अवस्था, आफ्नै ठाउँमा शिविर सञ्चालन हुन थाले पछि हटेको छ ।” सभापति मोक्तानले भन्नुभयो । 

नेपाल नेत्र ज्योति सङ्घले आँखाका बिरामीहरूका लागि भोजपुरमा भने राम्रो भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै संघका सदस्य धर्मराज राईले जिल्लाभित्र रहेका सबै पालिकाहरूमा आलोपालो मिलाएर शिविरहरू सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो ।  

जिल्लामा नै शल्यक्रियाका साथै आँखा परीक्षण गराउन पाएकोमा सेवाग्राही समेत खुसी छन् । शल्यक्रिया सहितको शिविर निरन्तर हुनु पर्नेमा जिल्लावासीको माग समेत रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button