न्यायालयको सुदृढीकरण अभियान थालेका छौ : कामु प्रधानन्यायाधीश कार्की

जुम्ला । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दिपक कुमार कार्कीले छिटो छरितो र सहज रुपमा न्याय सम्पादन गर्न र पीडितलाई न्यायको अनुभूति दिलाउन न्यायालयको सुदृढीकरण अभियान थालिएको बताउनुभयो ।
वर्तमान समयमा न्यायालयको सुदृढीकरण अभियान अपरिहार्य छ । न्यायालय भित्र बेथिति छ । उहाँले भन्नुभयो,“न्यायालय भित्रको बेथिति अन्त्य नगरी प्रभावकारी न्याय सम्पादन हुने अवस्था छैन । त्यसैले छिटो छरितो न्याय सम्पादन गर्न गोलाप्रथा र मेसिनबाट अटोमेटिक मुद्दा हेर्ने प्रक्रिया अघि बढाएका छौ ।”
हिउँदमा अत्यधिक चिसो हुने भएकोले ३ महिना काजबिदा दिने गरेका छौ । कामु प्रधानन्यायाधीश कार्कीले थप्नुभयो, “तर ३ महिना भन्दा बढी समय कर्णालीका न्यायाधीश जिल्ला बाहिर बस्ने गरेको सुनिएको छ । जसले गर्दा मुद्दा पछि धकेलिने र न्याय सम्पादन ढिला हुने समस्या छ । यस्ता बेथिति अन्त्यका लागि पनि तीनै तहका न्यायालय सुदृढीकरण अभियान थालिएको हो ।”

मुद्दा फैसला गर्दैमा पीडितले न्याय पाउँछ भन्ने ग्यारेन्टी नभएकोले मुद्दा फैसलापछिको कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको भनाई छ ।
सर्वोच्च अदालतका बरिष्टम न्यायाधीश हरिकृष्ण कार्कीले समयको विकास सँगै न्याय सम्पादनको आधुनिकीकरणका लागि सुविधायुक्त पूर्वाधार विकास सँगै दक्ष जनशक्ति व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार न्यायालय सुदृढीकरण अभियान अन्तर्गत उत्कृष्ट न्याय सम्पादन गर्ने न्यायाधीशलाई पुरस्कृत र खराब काम गर्नेलाई दण्डित गरिने छ ।
उच्च अदालत सुर्खेतका कामु न्यायाधीश शेषराज शिवाकोटीले सशस्त्र द्वन्द्वले अदालत भवन क्षतिग्रस्त हुँदा न्याय सम्पादनमा समस्या भोग्दै आएको बताउनुभयो । सुविधायुक्त भवन निर्माणसँगै न्याय सम्पादनका सबैखाले जटिलताको अन्त्य भएको र नागरिकले छिटो छरितो सेवा पाउने उहाँको अपेक्षा छ ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्की, मेयर राजुसिंह कठायत, अधिवक्ता मीन बहादुर महत लगायतका वक्ताले जुम्लामा न्यायाधीश नबस्ने समस्याले न्याय सम्पादनमा ढिलाइ भएको गुनासो पोखेका थिए ।
भवनको भव्यताले मात्रै न्याय सम्पादन प्रभावकारी नहुने भन्दै दक्ष जनशक्ति आपूर्ति र बाह्रै महिना न्यायाधीश जुम्लामा बस्ने नीति बनाउन समेत सुझाव दिएका छन् । साथै कामु प्रधानन्यायाधीशको टोलीले कर्णाली प्रतिष्ठान र चन्दननाथ मन्दिरको अवलोकन गरेका छन् ।
उच्च र जिल्ला अदालतका भवन उद्घाटन
उच्च अदालत सुर्खेत जुम्ला इजलास र जिल्ला अदालत जुम्लाको नवनिर्मित आधुनिक सुविधायुक्त भवन उद्घाटन गरिएको छ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दिपक कुमार कार्कीद्वारा बुधवार एक औपचारिक समारोहका बीच दुई अदालतका नवनिर्मित भवनको संयुक्त उद्घाटन गरिएको हो ।
२०५९ सालको द्वन्द्वले अदालतको पुरानो भवनमा आगलागी भयो । आगलागीले सम्पुर्ण मिसिल नष्ट हुनुका साथै भवन जलेर ध्वस्त भएको थियो । जसका कारण न्यायाधीशको क्वाटरमै इजलास बनाएर न्याय सम्पादन गर्नुपर्ने बाध्यता थियो । भने, साँघुरो एक तले भवनमै दशकौँदेखि न्याय सम्पादन हुँदै आएको थियो ।

न्याय सम्पादनमा आधुनिकीकरण गर्ने चालु आवको चौथो रणनीति अनुसार उच्च अदालत सुर्खेत जुम्ला इजलास र जिल्ला अदालत जुम्लाको सुविधायुक्त भवन निर्माण गरिएको हो । उच्च अदालत सुर्खेत जुम्ला इजलासको २४ कोटे अत्याधुनिक सुविधायुक्त भवन ३ करोड २२ लाख १३ हजार ७ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश कुमार गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार डिएस पृथ्वी जेभी निर्माण कम्पनी ललितपुरले उच्च अदालत सुर्खेत जुम्ला इजलासको भवन २०७४ मा निर्माण गरी हस्तान्तरण गरेको हो ।
त्यस्तै जिल्ला अदालत जुम्लाको २० कोटे अत्याधुनिक सुविधायुक्त भवन ४ करोड २१ लाख ४३ हजार ५ सय रुपैयाँ लागतमा निर्माण भएको जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले बताउनुभयो ।
जिल्ला अदालतको भवन चन्द्र एण्ड वसन्त पुष्प जेभी निर्माण सेवा ललितपुरले २०७३ असारमा सम्झौता गरी २०७६ कार्तिकमा निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको हो । न्यायाधीश सिंहका अनुसार सुविधायुक्त भवन निर्माण पश्चात् न्याय सम्पादन सहज भएको छ । सुविधायुक्त भवनले न्याय सम्पादन छिटो छरितो हुने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्