आर्थिक वर्ष ०७९/०८० को बजेटमाथिको छलफल जारी
काठमाडौँ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छलफल जारी रहेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद सुरेन्द्र पाण्डेले वर्तमान आर्थिक संकट एकातिर र सरकारले ल्याएको बजेट अर्कोतिर भएकाले बजेटले आर्थिक समस्या समाधान नगर्ने टिप्पणी गर्नुभयो ।

पुर्व अर्थमन्त्री समेत रहनुभएका सांसद पाण्डेले कृषिमा आधा बजेट छुट्टाएर दोब्बर प्रगति गर्ने सपना बाँड्न खोजेको आरोप लगाउनुभयो ।
छलफलमा नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले विषम परिस्थितिमा सबै क्षेत्रलाई समेटेर बजेट प्रस्तुत गर्नुभएकामा अर्थमन्त्रीलाई धन्यवाद दिनुभयो ।
सांसद बस्नेतले उत्पादनको संरचनामा जनसहभागितालाई जोड दिँदै कृषि क्षेत्र सुधार गर्नेजस्ता कार्यक्रमले किसानहरूलाई राहत मिलेको बताउनुहुँदै बजेटमा प्रस्तुत सार्वजनिक निजी साझेदारीको मोडललाई थप स्पष्ट पार्नुपर्नेमा जोड दिनुभयो ।
छलफलमा सांसद विमलप्रसाद श्रीबास्तवले सरकारको अर्बौँ लगानी भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोकिनु दलहरूको भागबन्डामा न्यायाधीश नियुक्ति गरिनुको परिणाम भएको स्पष्ट पार्नुभयो ।
बैठकमा एमाले सांसद लालबाबु पण्डितले विकासका अधुरा योजना पूरा गर्न बजेट पर्याप्त नभएको बताउनुभयो ।
बजेटमाथिको छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद लिङ्देनले बजेट आर्थिक सङ्कटलाई रोक्नेतर्फ उन्मुख नभई आगामी निर्वाचन केन्द्रित भएको बताउनुभयो ।
छलफलमा सांसद हृदयेश त्रिपाठीले किसानलाई खेतमा पानी, समयमा मल र उम्रिने बीउ भए पुग्छ भन्नुहुँदै किसानलाई पेन्सन दिने आधार के ? भनेर प्रश्न गर्नुभयो ।
त्यसैगरी सांसद प्रदीप यादवले बजेटमा मधेश प्रदेश ठगिएको बताउनुहुँदै हुलाकी राजमार्गका लागि छुटाइएको बजेटमा पुनर्विचार गर्न सुझाव दिनुभयो ।
बैठकमा सांसद दुर्गा पौडेलले बजेटमा विदेशीहरूलाई अपार्टमेन्ट किन्न छुट दिने कुरा राख्न नमिल्ने बताउनुभयो ।
बैठकमा सांसदहरू, देवप्रसाद गुरुङ, सुजिता शाक्य, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, पद्मनारायण चौधरी, निरादेवी जैरु, रंगमती शाही, टेकबहादुर बस्नेत, गोपालबहादुर बम, सरिताकुमारी गिरी, विमला विश्वकर्मा, केदार सिग्देल, भैरवबहादुर सिंह, सत्यनारायण शर्मा खनाल, हितबहादुर तामाङ, लक्ष्मीकुमारी चौधरी, लीलादेवी सिटौला र सुजन किराँती, समिना हुसेन, लगायतले आर्थिक वर्ष २०७९/०८०को बजेटमाथि धारणा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्