जो दोस्रो कार्यकालका लागि मतदाताबाट भए अस्वीकृत

तनहुँ । स्थानीय तहको निर्वाचन अन्तर्गत तनहुँमा पनि आगामी पाँच वर्षका लागि जनप्रतिनिधि चुनिएका छन् । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कतिपय उम्मेदवार ०७४ मा निर्वाचित जनप्रतिनिधि समेत थिए । तर मतदाताले निवर्तमान जनप्रतिनिधिभन्दा नयाँ उम्मेदवारलाई बढी रुचाएको देखिन्छ ।
दोस्रो पटक टिकट लिएर उम्मेदवार भएका अधिकांशले पराजय भोग्नु परेको छ । विगतका पाँच वर्षमा उत्कृष्ट काम गरेको ठहरिएका जनप्रतिनिधिलाई पनि जनताले दोहो¥याउन नचाहेको पाइएको छ ।
उत्कृष्ट काम गरेको भन्दै जिल्लाभर चर्चा बटुल्न सफल जिल्लाको म्याग्दे गाउँपालिकाकी निवर्तमान अध्यक्ष मायादेवी रानाको पराजय त्यसको ज्वलन्त उदाहरण हो । राना नेतृत्वमा आएदेखि नै म्याग्दे गाउँपालिका चर्चामा आइरह्यो ।
जिल्लामा एक मात्रै महिला प्रमुखका रुपमा होस् या महिलाका हकहितमा गरिएका विभिन्न कार्यक्रमले म्याग्दे गाउँपालिकाको चर्चा सधैव भइरह्यो । कार्य सम्पादनमा जिल्लाका अन्य पालिकाको भन्दा म्याग्दे नै अगाडी आउँथ्यो ।
यी र यस्तै कुरा हेरेर काँग्रेसले बिना सङ्कोच रानालाई दोस्रो पटक टिकट दियो । तर उहाँ एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित हुनुभयो । एमाले उम्मेदवार श्रेष्ठले ४ हजार ९५० मत ल्याउँदा रानाले ४ हजार २३२ मतमा रोकिनुभयो ।
०७४ मा ४ हजार ५४२ सय मतसहित राना विजयी हुनुभएको थियो । उहाँसँग एमाले उम्मेदवार श्रीप्रसाद श्रेष्ठ ३ हजार ४६१ मत ल्याएर पराजित हुनुभएको थियो । गत निर्वाचनमा रानाले हराएका एमालेका श्रेष्ठले नै यसपालि रानालाई हराउनुभएको हो ।
पाँच वर्षमा गरेको उत्कृष्ट काम हुँदा पनि राना जनताबाट अस्वीकृत हुनुभयो । तर म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली काँग्रेसका बालकृष्ण घिमिरे दोहोरिनुभएको छ । घिमिरे दोहिरिदा अध्यक्षमा राना दोहोरिन सक्नुभएन । रानामाथि कांग्रेस भित्रबाट धोका भएको उहाँ निकटको भनाई छ ।
यता जिल्लाको बन्दीपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा दोहोरिन खोज्नुभएका माओवादी केन्द्रका उम्मेदवार पराजित हुनुभएको छ । गाउँपालिकाको अध्यक्षमा पूर्णसिं थापा र उपाध्यक्षमा करुणा गुरुङ दोहोरिन यसपालि सक्नुभएन । अध्यक्षमा थापा एमालेका सुरेन्द्र बहादुर थापासँग पराजित हुनुभयो । एमालेका सुरेन्द्रले ३ हजार २२९ मत ल्याउँदा माओवादीका पूर्णसिंले ३ हजार १६६ मत मात्रै पाउनुभयो । गत २०७४ को निर्वाचनमा पूर्णसिं थापाले २ हजार ८६३ मतसहित विजयी हुनुभएको थियो ।
यस्तै उपाध्यक्षमा करुणा गुरुङ पनि दोहोराउने असफल हुनुभयो । उहाँ काँग्रेसकी पन्चमाया गुरुङसँग पराजित हुनुभयो । काँग्रेसकी पन्चमायाले ३ हजार २७ मात पाउँदा माओवादीकी करुणाले ३ हजार २५ मत पाउनुभयो । दुई मतले करुणाको उपाध्यक्ष दोहोराउने यात्रामा ब्रेक लागेको छ । गत २०७४ को निर्वाचनमा करुणाले २ हजार ६८४ मतसहित विजयी हुनुभएको थियो ।
माओवादी बन्दिपुरले आफ्नै पार्टी भित्रको अन्तरघातका कारण आफ्ना उम्मेदवार विजयी हुन नसकेको प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
यस्तै आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका गिर बहादुर थापा र देवघाट गाउँपालिकाको अध्यक्षमा एमालेका दुर्ग बहादुर थापाको दोहोरिने योजनामा ब्रेक लागेको छ ।
उहाँहरू दुवै पराजित हुनुभएको छ । आँबुखैरेनी गाउँपालिकामा माओवादीका शुक्र चुमान विजयी हुनुभयो । चुमानले ३ हजार ९४० मत ल्याएर विजयी हुँदा काँग्रेसका थापाले २ हजार २३० मत मात्रै पाउनुभयो । गत २०७४ को निर्वाचनमा थापा २ हजार ५८९ मतसहित विजयी हुनुभएको थियो । अहिले थापाले गत निर्वाचनमा भन्दा निकै कम मत पाउनुभयो ।
यस्तै देवघाट गाउँपालिका एमालेका दुर्ग बहादुर थापालाई हराउँदै काँग्रेसका तिल बहादुर थापा विजयी हुनुभयो । यो सँगै दुर्गबहादुर थापाको अध्यक्षमा दोहोराउने योजनामा रोकिएको छ । काँग्रेसका तिल बहादुर थापाले ४ हजार ३०६ मत ल्याएर विजयी हुँदा एमालेका दुर्ग बहादुर थापाले ३ हजार ४८३ मत मात्रै पाउनुभयो । गत २०७४ को निर्वाचनमा दुर्ग बहादुर थापा २ हजार ८७९ मतसहित अध्यक्षमा विजयी हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्