तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा छाडा चौपायाको बिगबिगी

वीरगञ्ज । साँढेको आक्रमणबाट परवानीपुर सडकमा गम्भीर घाइते अति विपन्न परिवारका लक्ष्मण रामको उपचारको जिम्मा वीरगञ्ज महानगरपालिकाले लिएको छ ।

वीरगञ्ज महानगरपालिका–२४ परवानीपुरमा दुई दिन अघि साँढेको आक्रमणबाट गम्भीर घाइते भएका रामको वीरगन्जको गण्डक स्थित स्पर्स अस्पतालमा उपचार भइरहेको छ ।

गरिबीको कारण उपचारमा कठिनाइ भएको जानकारी पाउनासाथ वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह बिरामीको अवस्था बुझ्न अस्पताल पुग्नुभएको थियो ।

रामको आर्थिक अवस्था अत्यन्त दयनीय रहेको र छाडा चौपाया नियन्त्रण नहुँदा रामको अवस्था गम्भीर भएको हुँदा उनको उपचारको खर्च महानगरपालिकाले व्यहोर्ने निर्णयमा पुगेको नगर प्रमुख सिंहले बताउनुभयो ।

यसैबिच अब वीरगञ्ज महानगरपालिकाले वीरगन्जमा छाडा चौपाया नियन्त्रणका लागि कडा कारबाही सुरु गर्ने भएको छ ।

वीरगन्जमा छाडा छाडिएका गाई, साँढे, बाछाबाछीलाई सोझै नियन्त्रणमा लिएर हेटौडास्थित गौशालामा पुर्‍याइने भएको छ ।

सामान्य जरिवाना र चेतावनीमा अटेरी गर्ने क्रम बढ्दै गएपछि महानगरपालिकाले छाडा चौपाया नियन्त्रणपछि जफत गर्ने र ती चौपायालाई हेटौडा गौशालामा पुर्याईने निर्णयमा पुगेको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button