तपाईँ सुन्दै हुनुहुन्छः

जितपुरसिमरा उपमहानगरपालिकामा मतदाता शिक्षा प्रभावकारी नहुँदा धेरै मत बदर 

बारा । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बन्न नसक्दा जीतपुरसिमरा उपमहानगरपालिकामा धेरै मत बदर भएको छ । 

गठबन्धनसहित चुनाव लडेका दलहरूले आफ्ना मतदातालाई मतदान गर्ने तरिका सिकाउन नसक्दा धेरै मत बदर भएको जीतपुरसिमरा उपमहानगरपालिकाको नव निर्वाचित नगर प्रमुख राजन पौडेलले जानकारी दिनुभयो  । 

बदर मतको वडागत विवरण केलाउँदा वडाध्यक्ष पदको भन्दा झन्डै चार गुणा बढी मत प्रमुख र उपप्रमुख पदमा बदर भएको देखिन्छ । 

जीतपुरसिमरा उपमहानगरपालिकामा सबैभन्दा धेरै उपप्रमुख पदमा १२ हजार पाँच सय ३१ मत बदर भएको छ । 

यस्तै, नगर प्रमुख पदमा ९ हजार ९ सय १० मत बदर भएको छ । २४ वडा रहेको उपमहानगरमा वडाध्यक्ष पदमा बदर भएको मत भने जम्मा ३ हजार एक सय ८० मात्र रहेको छ ।

पाँच दलीय संयुक्त गठबन्धनका तर्फबाट नगर प्रमुखमा माओवादी केन्द्रका राजन पौडेल र उपप्रमुख पदमा नेपाली काँग्रेसकी मेघा शाही उम्मेदवार हुनुहुन्थ्यो । गठबन्धनका पौडेल प्रमुख पदमा निर्वाचित हुनुभएको छ ।

उपप्रमुख पदमा नेपाली काँग्रेसकी मेघा शाही एमाले उम्मेदवारसँग पराजित हुनुभयो । उहाँ १ हजार ६५० मतान्तरले पराजित हुँदा उपप्रमुख पदमा १२ हजारभन्दा बढी मत बदर हुनुले फरक चुनाव चिन्हबाट चुनाव लड्दा दलहरूले मतदातालाई मतदान गर्ने तरिका सिकाउन नसक्नु पराजयको प्रमुख कारण देखिएको छ । 

कतिपय वडामा आफ्नो समेत मत बिग्रने डरले दलहरूले उम्मेदवार नै नभएको चिन्हमा समेत मत हाल्न सिकाएकाले बदर मत बढी देखिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button