तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको बगनासकालीमा एमाले विजयी

पाल्पा।पाल्पाको बगनासकाली गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । पालिकाकी निवर्तमान उपाध्यक्ष सरस्वती चिदी ८ सय ३३ मतान्तरले अध्यक्षमा विजयी भएकी हुन् । उहाँले ६ हजार ४ सय ६६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरेर दोस्रो हुनुभयो ।

उपाध्यक्षमा एमालेका हरि पाठक ५ हजार ८ सय ७३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेय (कमल)ले ४ हजार ७ सय ७८ मत ल्याएर दोस्रो हुनुभयो । यस पालिका अध्यक्षमा यसअघि नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । यसपालि पाँच दलिय गठबन्धन रहे पनि अध्यक्ष, उपाध्यक्ष र बहुमत वडा एमालेले जितेको हो ।

यस्तै ९ वटा वडा रहेको पालिकामा ६ वटामा नेकपा एमालेका उम्मेदवार विजयी भए भने ३ वटामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भए । दुई नगरपालिकासहित १० स्थानीय तह रहेको पाल्पामा बुधवार बिहानसम्म ९ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

जिल्लाको रम्भा गाउँपालिकामा भने मतगणना सुरु हुन सकेको छैन । फर्जी मत भेटिएपछि भएको विवादका कारण यस पालिकामा बुधवार बिहानसम्म पनि मतगणना सुरु हुन नसकेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button