तपाईँ सुन्दै हुनुहुन्छः

पुनर्वासमा मतदान कार्य स्थगित

कञ्चनपुर । कञ्चनपुर पुनर्वास नगरपालिका वडा नम्बर १० भीम बस्तीको विजय मावि मतदान केन्द्रमा विवाद हुँदा मतदान कार्य नै स्थगित गरिएको छ ।

मृत्यु भइसकेका र विदेशमा रहेका व्यक्तिहरूको नामबाट फर्जी मत हालेको भन्दै राजनीतिक दलका प्रतिनिधिहरूले विरोध गरेपछि विवाद भएको हो । दिउँसो १ बजेदेखि स्थगित भएको मतदान कार्य पुनः सुचारु गर्न सर्वदलीय, सर्वपक्षीय छलफल गरिए पनि सहमति हुन नसक्दा मतदान कार्य नै स्थगित गर्नुपरेको पुनर्वासका निर्वाचन अधिकृत किरण जोशीले जानकारी दिनुभयो ।

पुनर्वासका अन्य मतदान स्थलहरूमा भने निर्विवाद रूपमा मतदान कार्य सम्पन्न भएको छ । मत पेटिकाहरू सङ्कलन गर्ने कार्य गरिएको निर्वाचन अधिकृत जोशीले बताउनुभयो ।

विवादित ठाउँमा निर्वाचन आयोगले सूचना जारी गरेको समयमा पुनः मतदान गरिने बताइएको छ । योसँगै पुनर्वास नगरपालिकामा अर्को व्यवस्था नभएसम्मका लागि मतगणना सहित निर्वाचनका सबै कार्यक्रम स्थगित गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button