छिटफुट घटनाबाहेक उत्साहप्रद रूपमा मतदान सम्पन्न
काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रद रूपमा सम्पन्न भएको छ ।
केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका घटना समेत भएको जनाइएको छ । कतिपय ठाउँमा निर्वाचन स्थगित गरेर अर्को दिनका लागि मिति तय गरिएको छ । केही क्षेत्रमा केही बेर अवरुद्ध भएर पुनः मतदान सञ्चालन गरिएको थियो ।

यद्यपि समग्रमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको नेपाल प्रहरीको निष्कर्ष छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले विभिन्न जिल्लामा छिटफुट घटना देखिए पनि निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउनुभयो । उहाँका अनुसार अपराह्न पाँच बजेसम्म प्रहरी प्रधान कार्यालयमा प्राप्त विवरणअनुसार आज ३० भन्दा बढी जिल्लामा ११० घटना भएको छ । उहाँका अनुसार अझै पूर्ण विवरण आउन भने बाँकी छ ।
प्राप्त विवरणअनुसार विवादका कारण अवरुद्ध भएका ४० वटा मतदान स्थलमा पुनः मतदान गरिएको थियो । उहाँले काभ्रे, सप्तरी, सर्लाही लगायतका केही मतदान स्थलमा मतदान स्थगित भएको जानकारी आएको बताउनुभयो । केही जिल्लामा वर्षा समेतले मतदान प्रभावित बनाएको थियो ।
केसीले विभिन्न ११ जिल्लाका केही मतदान स्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको बताउनुभयो । हुम्लाको एक ठाउँमा भने अश्रुग्याँस नै प्रहार भएको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन भएको हो । आज बालिग मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

निर्वाचनकै इतिहासमा पहिलो पटक मतदाताका रूपमा नाम दर्ता भई मतदानको दिनभन्दा अघिल्लो दिन १८ वर्ष उमेर पूरा गरेका मतदाताले समेत मतदान गर्न पाएको दिन हो आज । प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन हो । कानुनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने, मतदान गर्ने अवसर र अधिकार निर्वाचनले प्रदान गर्छ । निर्वाचन आयोगले सुरक्षित तवरबाट मतपेटिकाको ढुवानीको आवश्यक प्रबन्ध मिलाएको र सबै मतपेटिका सङ्कलन भएपछि तत्काल मतगणना कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
स्थानीय तहको निर्वाचन पहिलो पटक एकै चरणमा गरिएको हो । नेपालमा संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ मा तीन चरणमा निर्वाचन भएको थियो । त्यो बेला वैशाख ३१, असार १४ र असोज २ मा निर्वाचन सम्पन्न भएको थियो । त्यसअघि विसं २०५४ मा स्थानीय तहको निर्वाचन जेठ ४ र १३ गते गरिएको थियो ।
अहिले एकै पटक देशभरका कूल १० हजार ७५६ मतदान स्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ०७ बजेदेखि मतदान प्रारम्भ भएको थियो । यस पटक ७५३ स्थानीय तहका कूल ३५ हजार २२१ निर्वाचित हुनेछन् । यसअन्तर्गत छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एक/एक अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष लगायत पदमा जनप्रतिनिधि निर्वाचित हुने छन् ।
स्थानीय तह सदस्य निर्वाचनमा कूल १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । यस पटकको निर्वाचनमा बिहीबारसम्म १८ वर्ष उमेर पूरा भएका बालिग मतदाताले मतदानको अवसर पाएका छन् ।
कूल एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा रहनुभयो । त्यसमध्ये ३९० जना यसअघि नै निर्विरोध भइसक्नुभएको छ । निर्वाचन प्रयोजनका लागि आयोगमा ७९ दल दर्ता भएका थिए । आयोगमा दर्ता भएकामध्ये ६५ दलले मात्र मनोनयन दर्ता गराएका थिए । निर्वाचनमा १ लाख नौ हजार ८८ कर्मचारी खटिएका छन् । ६५ हजार ८६५ स्वयंसेवक र ५ हजार पर्यवेक्षक तथा २ लाख ६० हजार सुरक्षाकर्मी परिचालित थिए ।

नेपालको संविधान २०७२ को अनुसूचीमा स्थानीय तहलाई महत्त्वपूर्ण अधिकार दिइएको छ । त्यही अधिकार प्राप्त भएका कारण गाउँ ठाउँको विकासका लागि सङ्घको मुख ताकिरहनु पर्दैन । त्यसैले पनि २०७२ अघिको स्थानीय निकायको तुलनामा अहिलेको स्थानीय तहको जिम्मेवारी ठूलो छ । गाउँको विकासमा स्थानीय तहले आफैँ निर्णय गरेर कार्यान्वयन गर्न सक्नेछ । स्थानीय तह आफैँमा सरकार र संसद् पनि हो ।

परिचित जनप्रतिनिधि हुने भएकाले पनि समुदायले निर्धक्कसँग कुरा राख्न सक्ने हुँदा पनि नागरिक निर्वाचनमा विभिन्न समस्याका बाबजुद सहभागी भएका थिए । कोही लौरो टोकेर त कोही बच्चा काखी च्यापेर मतदानमा सहभागी थिए । कसैले ह्वील चेयरमा बसेर पनि मत खसाले भने पाका उमेरकाले पनि मताधिकार प्रयोग गरेका दृश्य देखिएको थियो ।
रासस








प्रतिक्रिया राख्नुहोस्