तपाईँ सुन्दै हुनुहुन्छः

ललितपुरमा आचारसंहिता कार्यान्वयनमा कडाइ

ललितपुर । ललितपुरमा आचारसंहिता उल्लङ्घनको गुनासो आएपछि अनुगमन तीव्र बनाइएको छ ।

ललितपुर महानगरपालिका, नगरपालिका र पालिकाहरूमा आचारसंहिता विपरीत सार्वजनिक स्थल, व्यक्तिको घरमा पार्टीको झन्डा, फ्लेक्स, चुनाव चिह्न राखिएको गुनासो आएपछि अनुगमन तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अहिले आचारसंहितालाई ललितपुरमा पूर्ण रूपमा पालना गराइएको बताउनुभयो । उहाँले आफैँले विभिन्न ठाउँको अनुगमन गरिरहेको बताउँदै आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको बताउनुभयो ।

उहाँले यही वैशाख ३० गतेको निर्वाचनका लागि जिल्लाका सबै पालिकाको मतदान स्थल तथा केन्द्रको अनुगमन गरेको, सुरक्षा व्यवस्था मजबुत बनाउन स्थानीय तह सुरक्षा संयन्त्र नै गठन गरेर सुरक्षा योजना स्वीकृत गरी सबै मतदान केन्द्रमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र आवश्यक सुरक्षा व्यवस्था मजबुत बनाएको बताउनुभयो ।

सबै पालिकाका सबै मतदाताले सुरक्षित भएर शान्तिपूर्ण रूपमा मतदान गर्न सक्ने, भयरहित रूपमा निर्वाचन सम्पन्न गर्न सक्ने गरी सुरक्षा व्यवस्था मजबुत बनाएको उल्लेख गर्दै मतगणना स्थलमा पनि सुरक्षित व्यवस्थापन गर्ने गरी सुरक्षा संयन्त्र तयार पारिएको प्रजिअ उपाध्यायले बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button