तनहुँमा स्थानीय तह निर्वाचनको तयारी तीव्र

तनहुँ । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि तनहुँमा तीव्र तयारी भइरहेको छ ।
जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, मुख्य र निर्वाचन अधिकृतको कार्यालयले चुनावको तयारी तीव्र बनाएका हुन् ।
जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले निर्वाचनका लागि आवश्यक पर्ने जनशक्तिको खटनपटनको अन्तिम तयारी भएको जानकारी दिनुभयो ।
“चुनावमा खटाउने सम्भावित कर्मचारीको विवरण सङ्कलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियुक्ति दिएर चुनावमा खटाउने अन्तिम तयारी गरेको छ ।”
निर्वाचन कार्यालयले १ हजार ४ सय ८५ जना निजामती कर्मचारी, स्थानीय तहका कर्मचारी, शिक्षक र स्वतथ्यकर्मीको विवरण पठाएको उहाँले जानकारी दिनुभयो । जसमध्ये ५सय९९ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई १ दिने तालिम दिएर कार्यस्थलमा पठाइने प्रमुख ढकालले जानकारी दिनुभयो ।
दश वटा स्थानीय तहका ८५ वडामा १ सय ३६ मतदान स्थल र २ सय९७ मतदान केन्द्र कायम गरिएको छ । २ सय ९७ मतदान अधिकृत, २ सय९७ सहायक मतदान अधिकृत नियुक्ति गरिएको निर्वाचन अधिकारी ढकालले बताउनुभयो ।
उहाँका अनुसार प्रत्येक मतदान केन्द्रमा अन्य २ जना सहायक कर्मचारी, १ जना सहयोगी र ३ जना स्वयंसेवक रहनेछ ।
निर्वाचन आयोगबाट चुनावका लागि आवश्यक पर्ने सबै सामग्री जिल्लामा आइसकेको प्रमुख ढकालले बताउनुभयो । २ लाख ६९ हजार मतपत्र आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्ला सुरक्षा समितिले तनहुँका १ सय ३६ मतदान स्थल मध्ये ५ वटालाई अति संवेदनशील, ३८ वटा संवेदनशील र ९३ वटालाई सामान्य समूहमा राखेर योजना बनाएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो ।
अति संवेदनशील मतदान स्थलमा अन्य ठाउँको भन्दा थप र तीन घेरामा सुरक्षाकर्मी परिचालन गर्ने योजनाअनुसार अघि बढेको उहाँले बताउनुभयो । अति संवेदनशील मतदान स्थलमा पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली र बाहिरी घेरामा नेपाली सेना खटिने उहाँले बताउनुभयो । साथमा राष्ट्रिय अनुसन्धान विभागबाट खटिनेछन् ।
“मतदान पूर्व, मतदान र मतदानपछिको तीन चरणको सुरक्षा योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका जनशक्ति परिचालन गरिएको छ ।”
निर्वाचन सुरक्षाका लागि तनहुँमा १ हजार १८८ म्यादी प्रहरी भर्ना भएका छन् । मतदान केन्द्रमा १ हजार १८८ म्यादी प्रहरी र ८ सय नेपाल प्रहरी खटिने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । सबै निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली परिचालन भएको छ ।
जिल्लामा दुई लाख ४४ हजार ३ सय ४० जना मतदाता रहेका छन् । जसमा एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २ सय ६ महिला मतदाता रहेका छन् । एक लाख चार हजार ३ सय २७ महिला र ९० हजार १ सय ४४ पुरुष गरेर २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता थिए ।
जिल्लामा ४४५ पदका लागि १ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।







प्रतिक्रिया राख्नुहोस्