तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यकर्मीमाथि हातपात गरे बिनाधरौटी पुर्पक्षमा

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई बिनाधरौटी पुर्पक्षमा राख्ने अध्यादेश पारित गरेको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो) संशोधन अध्यादेश मन्त्रीपरिषद्बाट पारित गरेर स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो । राष्ट्रपतिबाट उक्त अध्यादेश जारी भएपछि स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई बिनाधरौटी पुर्पक्षमा राख्न बाटो खुल्ने छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याउन नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, महासचिव डा. बद्री रिजाललगायत चिकित्सक संघका पदाधिकारीहरूको निरन्तर प्रयास पछि बल्ल सो अध्यादेश मन्त्रीपरिषद्बाट पास भएको हो । 

यो ऐन जारी भएपछि स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई पुर्पक्षमा राखेर छानबिन अगाडि बढाउने बाटो खुल्ने छ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा ल्याएको अध्यादेशमा अस्पतालमा आगजनी गरेको अवस्थामा मात्र बिनाधरौटी पुर्पक्षमा पठाउने व्यवस्था थियो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि त्यसलाई संशोधन गर्दै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई पनि बिनाधरौटी पुर्पक्षमा राख्ने व्यवस्थासहितको विधेयक सदनमा पेश गर्ने तयारी थियो । तर, एमालेको अवरोध र अन्य कारणले गर्दा सदन स्थगित भएपछि थप व्यवस्थासहित सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश ल्याएको मन्त्री खतिवडाले बताउनुभयो ।

अध्यादेशमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्‍याउने, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याउने, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्ने कुनै किसिमको धम्की दिने, गाली गलौज गर्ने वा अभद्र वा अपमानजनक व्यवहार गर्नेलाई पनि बिनाधरौटी पुर्पक्षमा पठाउने व्यवस्था राखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button