परिसंघको महानिर्देशकमा जोशी

काठमाडौँ । नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपक राज जोशी नियुक्त हुनुभएको छ। परिसंघ पदाधिकारी समितिको २७ औँ बैठकको निर्णयअनुसार जोशीलाई महानिर्देशक नियुक्त गरिएको हो।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो। अध्यक्ष अग्रवालले नेपाली उद्योगहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले औद्योगिक वातावरण निर्माणमा सक्रियतापूर्वक काम गरिरहेको भन्नुहुँदै नवनियुक्त महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने विश्वास व्यक्त गर्नुभयो।

नवनियुक्त महानिर्देशक जोशीले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई भविष्यमा थप प्रभावकारी बनाउने बताउनुभयो। उहाँले परिसंघमा आबद्ध सम्पूर्ण सदस्यहरूमा पर्ने समस्या समाधानका लागि सहजीकरण गर्नेतर्फ ध्यान दिने उल्लेख गर्नुभयो।
नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत जोशी विगत २२ वर्षदेखि विभिन्न जिम्मेवारीमा सक्रिय रहनु भएको छ। उहाँले प्यासिफिक एसिया ट्राभल एसोसिएसनमा डेस्टिनेसन कमिटीको अध्यक्षको रूपमा काम गर्नुभएको छ।
अन्तर्राष्ट्रियरूपमा ‘च्यान्पिएन्स इन च्यालेन्ज र ‘पर्यटन हिरो’ जस्ता सम्मानबाट सम्मानित भइसक्नु भएका जोशीबाट परिसंघका उद्देश्यअनुरूपका कार्य सम्पादन हुने विश्वास परिसंघको छ। वाणिज्यशास्त्रमा स्नातकोत्तर उहाँ पर्यटन तथा अन्य आर्थिक क्षेत्रसँग सम्बन्धित अध्ययन अनुसन्धानमा पनि संलग्न हुनुहुन्छ।








प्रतिक्रिया राख्नुहोस्