तपाईँ सुन्दै हुनुहुन्छः

औषधीय गुण भएको वनस्पतिको संरक्षण आवश्यक: मुख्यमन्त्री राउत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा पाइने औषधीय गुणले भरिपूर्ण वनस्पतिको संरक्षण समृद्धिको आधार बन्न सक्ने बताउनुभएको छ ।

मुख्यमन्त्री राउतले २३ औँ वनस्पति दिवसको अवसरमा वनस्पति अनुसन्धान केन्द्र धनुषाले आज धनुषाधाममा रहेको वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा मुलुकको ठूलो सम्पत्तिको रुपमा रहेको वनस्पतिको संरक्षण गरेर मनग्य आम्दानी गर्न सकिने बताउनुभयो ।

उहाँले नेपालमा पाइने जडीबुटीहरूको माग विदेशमा समेत पर्याप्त मात्रामा रहे पनि उचित प्रयोग हुन नसक्दा कतिपय जडीबुटी खेर गइरहेको बताउँदै प्रदेशको एक मात्र वनस्पति उद्यानको संरक्षण आवश्यक रहेकोमा जोड दिनुभयो ।

वनस्पति अनुसन्धान केन्द्रका प्रमुख ताहिर हुसेनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव सहितका वक्ताहरूले वनस्पतिको उपयोगिताबारे प्रकाश पार्नुभएको थियो । धनुषाधाम वनस्पति उद्यानमा हाल २ सय ७६ प्रजातिका वनस्पति रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

त्यस अवसरमा मुख्यमन्त्री राउतले वातावरणको दृष्टिकोणले निक्कै उपयोगी पिपलको बिरुवा रोप्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button