‘सरकारले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन काम थालेको छ’

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन (विस्तार गर्न) सरकारले काम थालेको बताउनुभएको छ ।
फारवेष्ट ट्राभल मार्ट–२०२२ को आज धनगढीमा उद्घाटन गर्दै मन्त्री आलेले धनगढी विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि १ अर्ब बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
मन्त्री आलेले उत्तर(दक्षिण (भारत–चीन मानसरोवर) जोड्ने सडक सञ्जाल बिस्तारको योजना रहेको बताउनुभयो । उहाँले फारवेष्ट ट्राभल मार्ट आयोजनले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने उल्लेख गर्दै सरकार पर्यटन क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले ट्राभल मार्टले सुदूरपश्चिमको पर्यटन व्यवसायलाई चलायमान बनाउने बताउनुभयो ।
तीन दिन सम्म चल्ने मार्टमा सरकारी तथा निजी क्षेत्र, पर्यटन प्रवर्द्धनमा क्रियाशील ट्राभल टुरका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्