रेडियो नेपाल राष्ट्र हित र जनअपेक्षाअनुसार अघि बढिरहेको छ : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपालले समय सुहाउँदो नवीनतम प्रविधिहरूको उपयोग गर्दै अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार र सूचना प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
रेडियो प्रसारण सेवा विकास समिति (रेडियो नेपाल)को ७२औँ वार्षिकोत्सव समारोहमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बाहकका रुपमा रहेको रेडियो नेपाल राष्ट्र हित र जनअपेक्षाअनुसार अघि बढिरहेको बताउनुभयो ।

मन्त्री कार्कीले रेडियो नेपालले राष्ट्रिय दायित्वबोध गर्दै, गाउँ र बस्ती र दूर दराजसम्म आफ्नो प्रसारण पहुँच बढाउँदै लगेको बताउँदै कला, साहित्य, गीत सङ्गीत र संस्कृतिको संरक्षणमा रेडियो नेपालको भूमिका अतुलनीय रहेको उल्लेख्य गर्नुभयो ।
मन्त्री कार्कीले पुराना गीत सङ्गीत र श्रव्य सामग्रीहरूको कालान्तरसम्म संरक्षण हुनुपर्ने भन्दै ती महत्त्वपूर्ण सामग्रीहरूलाई आयआर्जनसँग जोड्नु पर्ने औँल्याउनुभयो ।
उहाँले रेडियो नेपालमार्फत हाल २१ भाषामा समाचार र २० भाषामा कार्यक्रमहरू प्रसारण गर्दै आएको उल्लेख गर्दै रेडियो नेपालले सरकारको लक्ष अनुरूप आफ्नो प्रसारण सेवा विस्तार गर्दै लगेको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले नेपाली समाजमा रहेको विद्यमान सामाजिक विकृति, कुरीति र समस्याहरू विरुद्ध नागरिकहरूलाई जागरूक, संवेदनशील, जिम्मेवार र सकारात्मक परिवर्तनतर्फ उन्मुख गराउन रेडियो नेपालको अतुलनीय रहेको बताउनुभयो ।
उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको समावेशी चरित्र स्थापित गर्दै अनेकौँ चुनौतीका बाबजुद पनि संस्थागत सबलीकरणमा रेडियो नेपाल सफल भएको उल्लेख गर्नुभयो ।
सचिव अर्यालले सूचनाको क्रान्तिकारी परिवर्तनसँगै थपिएको चुनौतीको सामना गर्दै रेडियो नेपालले आफूलाई प्रतिस्पर्धामा उतार्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
सचिव अर्यालले सूचना र सन्देशलाई छिटो र प्रभावकारी बनाउन रेडियो नेपालले प्रयत्न गरिरहेको बताउँदै यसको क्षमता बढाउन मन्त्रालय तयार रहेको समेत बताउनुभयो ।
उहाँले डिजिटल प्रसारण प्रविधिको प्रयोग गर्दै आम श्रोताको रुचि, इच्छा अनुरूपको स्वाद दिन जरुरी रहेको समेत बताउनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले भरपर्दो र विश्वसनीय प्रसारण सेवाका रुपमा विकास गर्न लागि परेको बताउनुभयो ।
उहाँले रेडियो नेपालको प्रसारण पहुँचलाई आगामी दिनहरू अझ वृद्धि गर्दै थप स्तरीय, जिम्मेवार र समाज उपयोगी बनाउँदै लैजाने उल्लेख गर्दै रेडियो कार्यक्रम र प्रसारणको गुणस्तरमा ध्यान पुर्याइएको बताउनुभयो ।
कार्यकारी निर्देशक केसीले श्रोताको आवश्यकता र राज्यको नीति अनुरूप सही सूचना, समाचार तथा जनचेतनामूलक, शिक्षाप्रद र मनोरञ्जनप्रद कार्यक्रमहरू उत्पादन गरिरहेको बताउनुभयो ।
रेडियो नेपालका उपनिर्देशक एवम् सञ्चालक समिति सदस्य टीका प्रसाद भण्डारीले रेडियो नेपालले समाचार र कार्यक्रमको स्तरबृद्धि र गीत सङ्गीतको जगेर्ना र संवर्द्धन गर्न निरन्तर लागिपरेको बताउनुभयो ।

समारोहमा रेडियो नेपालका निर्देशक खगेन्द्र खत्रीले परिवर्तनका लागि चुनौतीहरूको सामना गर्दै सेवाको गुणस्तरीयता वृद्धि गर्न आम कर्मचारी तयार रहेको बताउनुभयो ।
वार्षिकोत्सव समारोहमा रेडियो नेपालले वरिष्ठ गीतकार किरण खरेल र वरिष्ठ सङ्गीतकार दीपक जङ्गमलाई जनही ५१ हजार रुपैयाँ राशि र प्रमाण पत्रसहितको स्रष्टा सम्मान गरेको छ ।
यस्तै, राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगितामा गायनतर्फ प्रथम हुने भोजपुरका राजकुमार सुन्दास (राज सागर) ४० हजार रुपैयाँ नगद र प्रमाणपत्र, द्वितीय स्थान प्राप्त गर्ने लक्ष्मी बि.क र सन्देश पौड्याललाई संयुक्त रुपमा ३० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र तृतीय हुने ममता गुरुङलाई २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र सम्मान गरेको छ ।
यसैगरी, उत्कृष्ट सङ्गीतकार रमेश सुवेदी र उत्कृष्ट गीतकार महेश पौडेललाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।
रेडियो नेपालले वार्षिकोत्सव कै अवसरमा २५ बर्ष सेवा पूरा गर्नुहुने ३६ जना कर्मचारीहरूलाई दीर्घ सेवा पदकसहित सम्मान गरेको छ ।

यस वर्षको उत्कृष्ट कर्मचारीहरूमा सञ्चार तथा कार्यक्रमतर्फबाट अच्युत अर्याल, इञ्जिनिरीङतर्फबाट सुभाष कुमार शाह र प्रशासनतर्फबाट विनोदकुमार पोख्रेल र चेतबहादुर मोक्तानलाई संयुक्त रुपमा सम्मान गरिएको छ ।
यसैगरी, रेडियो नेपालमा २० वर्षभन्दा बढी समय करार सेवामा सेवा गरी अनिवार्य अवकाश पाउनुहुने गायिका चन्द्रकला शाह, समाचार वाचक नियाजुद्धिन मिया र कर्मचारी रामकुमार मण्डललाई जनही ५० हजार रुपैयाँ राशिसहित सम्मान पत्रले सम्मान गरिएको थियो ।
यस्तै, सिन्धुपाल्चोक जिल्लाका जिल्ला संवाददाता देवराज सुवेदीलाई उत्कृष्ट जिल्ला संवाददाताका रुपमा सम्मान गरिएको छ भने प्रादेशिक प्रसारण कार्यालय बर्दिबासलाई उत्कृष्ट कार्यालय सम्मान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्