तपाईँ सुन्दै हुनुहुन्छः

‘सुरक्षण मुद्रणमा आत्मनिर्भरताको उद्देश्य पूरा हुँदैछ’

काभ्रेपलान्चोक । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशलाई मुद्रणको क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्य पूरा हुँदै गरेको बताउनुभएको छ ।

उहाँले काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र परिसरमा निर्माण हुने बहुउद्देश्यीय भवनको आज शिलान्यास गर्दै केन्द्रमा योजना अनुसारका भौतिक पूर्वाधार निर्माण तथा आवश्यक उपकरण जडानपछि मुद्रणको क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्य पूरा हुने बताउनुभयो ।

उहाँले भौतिक निर्माण, सुरक्षित मुद्रण उत्पादन तथा भौतिक पूर्वाधार निर्माणको कार्य अघि बढाउन सहयोग, समन्वय र सहजीकरण गर्न मन्त्रालय र सुरक्षण मुद्रण विकास समितिका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

मन्त्री कार्कीले छापाखाना स्थापना भएपश्चात् राष्ट्रिय उत्पादकत्व वृद्धि भई रोजगारी सिर्जना तथा विदेशबाट आयात भइरहेको सुरक्षण मुद्रण सामग्रीको आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले केन्द्रलाई बजेटको सुनिश्चितता भएकोले समयमै सक्ने गरी आयोजना अघि बढाइएको बताउनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले शिलान्यास भएको बहुउद्देश्यीय भवन भूकम्प प्रतिरोधी, आगोबाट असर नगर्ने गुणस्तरको भएको तथा भवनमा कागज, मसी र मेसिनरी औजार लामो समयसम्म भण्डार गर्न सकिने बताउनुभयो ।

नेपाली काँग्रेसका जिल्ला सभापति तीर्थ लामा र पनौती नगरप्रमुख भीम न्यौपानेले जिल्लाको गौरवको रूपमा रहेको केन्द्र सञ्चालनार्थ आ–आफ्नो क्षेत्रबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button