पर्सा राष्ट्रिय निकुञ्ज र स्वास्थ्य सेवा बिभागबीच जग्गा सम्बन्धी विवाद
बारा । बारामा जग्गाको विषयलाई लिएर पर्सा राष्ट्रिय निकुञ्ज र स्वास्थ्य सेवा बिभागबीच विवाद सुरु भएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जको संरक्षित क्षेत्र भित्र स्वास्थ्य सेवा विभागले भौतिक संरचना निमार्ण गरेपछि दुई सरकारी निकाय बीच विवाद सुरु भएको हो ।
स्वास्थ्य सेवा विभागले ३ दशकदेखि भोगचलन गर्दै आएको बाहेक थप संरक्षित क्षेत्रमा भौतिक संरचना निमार्ण गरेपछि दुई सरकारी निकायबीच जग्गा विवाद बढेको छ ।
विभागले सुकुम्वासी समस्या समाधान आयोगमार्फत सो जग्गा प्राप्त गरेको दाबी गरेको छ भने निकुञ्जले मध्यवर्ती क्षेत्रको जग्गा आयोगले के आधारमा विभागको नाममा जग्गाधनी पुर्जा जारी भएको हो भनी मालपोत तथा नापी कार्यालय सिमरासँग जवाफ माग गरेको छ ।
निकुञ्जले माघ दोस्रो साता मालपोत तथा नापी कार्यालयलाई पत्राचार गरेर विभागको नाममा रहेको जग्गाधनी प्रमाण पुर्जा के कसरी जारी भएको हो ? उक्त जग्गाको क्षेत्रफल, चार किल्ला र सिमाना सम्बन्धमा स्पष्ट गरी पठाउन आग्रह गरेको छ ।
२०५५ साल मङ्सिर २५ गते सुकुम्वासी समस्या समाधान आयोगले भीमेश्वर मध्यवर्ती सामुदायिक वन पथलैयाको कित्ता नं १३७ को ४ हेक्टर जग्गा स्वास्थ्य विभागलाई दिने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा नारायण क्षेत्री अध्यक्ष रहेको अर्को सुकुम्वासी आयोगले २०६७ साल फागुन ७ गते विभागको नाममा जग्गाधनी प्रमाण पुर्जा जारी गरेको हो । सो जग्गामा स्वास्थ्य विभागले केन्द्रिय मेडिकल स्टोर राखेको छ ।
पथलैयास्थित भीमेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पेशल मुल्मीले मेडिकल स्टोरले भोगचलन गर्दै आएको बाहेक थप घना वन क्षेत्र कब्जा गर्न खोज्नु गलत भएको टिप्पणी गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्