स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुन्छ : मन्त्री चौधरी

भद्रपुर, झापा । खानेपानी मन्त्री उमाकान्त चौधरीले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ ।
आज झापाको बिर्तामोडमा बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १९औँ साधारण सभा एवम् नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री चौधरीले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेकोले हुँदैन कि भन्ने आशङ्का नगर्न आग्रह गर्नुभएको हो ।
सरकारले तोकिएको समयमा निर्वाचन नगर्ने षडयन्त्र गरिरहेको भन्दै विपक्षीहरूले भ्रम फैलाइरहेको उल्लेख गर्नुहुँदै मन्त्री चौधरीले सबै कार्य तालिका अनुसार निर्वाचनसम्बन्धी गतिविधि अघि बढिरहेकोले तोकिएकै समयमा निर्वाचन हुनेमा ढुक्क रहन आमजनतालाई आग्रह गर्नुभयो ।

उहाँले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको हितमा रहेकोले यसलाई संसद्ले अनुमोदन गरेको बताउनुहुँदै यसलाई पूर्ण कार्यान्वयन गर्दा नेपाललाई ठुलै लाभ हुने उल्लेख गर्नुभयो । उहाँले एमसीसीको विरोध गर्नेहरू विकास विरोधी भएको आरोप लगाउनुभयो ।
संस्थाका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्री चौधरीले देशकै उत्कृष्ट बन्न सफल भएकोमा बिर्तामोड खानेपानीलाई बधाई दिँदै बिर्तामोड खानेपानीको पाइपलाइन विस्तार र डीप बोरिङ निर्माणका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संस्थाको नवनिर्मित प्रशासनिक भवन डेढ करोड लागतमा निर्माण भएको हो ।








प्रतिक्रिया राख्नुहोस्