तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा क्षयरोगका बिरामी बढ्दै, चालु आर्थिक वर्षमा क्षयरोगबाट चार जनाको मृत्यु 

सल्यान । सल्यानमा क्षयरोगका बिरामी बढ्दै गएको पाइएको छ । चेतनाको अभाव र औषधिको नियमित सेवन नगर्नाले क्षयरोगका बिरामी बढ्दै गएको पाइएको हो । 

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार चालु आर्थिक वर्ष २०७८।२०७९ को साउन देखि माघ मसान्तसम्म १३० जना क्षयरोगका बिरामी फेला परेका छन् भने चार जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७७÷२०७८ मा १ सय ७५ जना नयाँ क्षयरोग पोजेटिभ भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताउनुभयो । 

चालु आर्थिक वर्ष सकिन अझै एक चौमासिक बाँकी रहेकाले क्षयरोगका बिरामीको सङ्ख्या बढ्न सक्ने उहाँले बताउनुभयो । समयमा उपचार नगराउने, खानपानमा ध्यान नदिने, समाजबाट बहिस्कृत हुने डरले लुकाउने, चेतनाको कमी, पूरा समय औषधी सेवन नगर्नु जस्ता कारण क्षयरोगका बिरामीको सङ्ख्या बढ्दै गएको डिसीको भनाई छ । 

नियमित क्षयरोगीका बिरामीले उपचार र औषधी सेवन गरेमा यो रोग निको हुने सल्यान जिल्ला अस्पतालका डा. अभिषेक सिंहले बताउनुभयो । उहाँले यो रोगबाट भयभीत हुन नहुने तर्क गर्दै उपचारमा आएमा निको हुने बताउनुभयो । 

क्षयरोग आँखाले देख्न नसकिने सूक्ष्म कीटाणुबाट हुने एक प्रकारको सरुवा रोग हो । दुई हप्ता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागि रहनु क्षयरोगको मुख्य लक्षण रहेको डा. सिंहको भनाई छ । ज्वरो आउनु, खाना नरुच्नु, छाती दुख्नु, खकारमा रगत देखा पर्नु  यस रोगको लक्षण रहेको उनले बताए । यदि कसैमा यस्ता लक्षणहरू देखा परेमा नजिकको स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्न आग्रह समेत गर्नुभयो । 

बालबच्चालाई समयमै बिसीजी खोप लगाउने, पोषणयुक्त आहारमा ध्यान दिने र मुख्यतः रोग लागेको शङ्का हुने बित्तिकै स्वास्थ्य उपचारमा लागेर निरन्तर औषधी खाने हो । टिबी रोग निर्मूल पार्न सकिने चिकित्सकको भनाई छ । 

क्षयरोगका बिरामीलाई निःशुल्क औषधी वितरण गरिँदै आएको र औषधीको कुनै अभाव नरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button