तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका १७ सय सवारी ट्राफिक कारबाहीमा 

जुम्ला । जुम्लामा अझै ट्राफिक नियमको पालना गर्ने प्रवृत्तिको विकास भएको छैन । चालु आर्थिक वर्षको आठ महिनामा जुम्लाका १७ सय भन्दा बढी सवारी ट्राफिक कारबाहीमा परेका छन् । चालु आवको फागुन महिना सम्मको तथ्याङ्क अनुसार जुम्लाका १ हजार ७ सय ३५ वटा सवारी ट्राफिक कारबाहीमा परेका छन् । जसबाट झण्डै १६ लाख ५१ हजार ५ सय राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रहरी जवान पवन कुमार शाहीले बताउनुभयो 

उहाँका अनुसार चालु आवको आठ महिनामा १७ सय ३५ वटा सवारी कारबाहीमा परेका छन् । जसमा सबैभन्दा बढी ७ सय ६१ वटा मोटरसाइकल कारबाहीमा परेका छन् । भने, मालवाहक ट्रक १ सय २३, बस १ सय ३८, जिप २ सय १, ट्याक्टर १ सय ११, र अटो ४ सय १ गरी १७ सय बढी सवारी कारबाहीमा परेको प्रहरी जवान शाहीले जानकारी दिनुभयो ।

जुम्लामा सवारीको चाप बढ्दै गएको छ । क्षमता भन्दा बढी सवारी बोक्ने सवारी अनुमति पत्र बिना सवारी चलाउने लगायतका कारणले जुम्लामा सवारी कारबाही बढेको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख कमल खड्काले बताउनुभयो । 

उहाँले भन्नुभयो,“झण्डै १७ सय बढी सवारी कारबाहीमा परेका छन् । त्यस मध्य मोटरसाइकल र अटो बढी छन् । विगत चार वर्षदेखि जुम्लामा लाइसेन्स वितरण नखोल्दा बाइक र अटो बढी कारबाहीमा परेका हुन् । बल्ल लाइसेन्स वितरण खुलेको छ । अब सहज हुन्छ ।”

ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरी एक्लैले मात्र सम्भव नभएकोले आम नागरिकको सहयोग आवश्यक पर्ने प्रमुख खड्काको भनाई छ । सीमित स्रोत साधन र जनशक्तिका बीच पनि जुम्लाको ट्राफिक व्यवस्थापनका कामलाई प्रभावकारी बनाउने प्रयास गरिएको जनाइएको छ । 

आगामी दिनमा जिल्लाका विद्यालय गाउँ टोल सडकमै चालक, विद्यार्थी, स्थानीय नागरिकका बीच ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम गरिने समेत ट्राफिक प्रमुख खड्काको भनाई छ । कर्णाली प्रदेशको सुर्खेतपछि जुम्लामा सवारी चाप बढ्दै गएकोले व्यवस्थापनमा चुनौती रहेपनि नियम अनुसार काम अघि बढाइने छ । 

सधैँ नियमन र जरिवाना गरेर मात्र समस्याको समस्या नहुने भन्दै चालकहरू स्वयम जिम्मेवार भएर नियम अनुसार सवारी चलाउन समेत अनुरोध गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button