तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कञ्चनपुरबाट ११ सय बढीले लिए ई–पासपोर्ट 

कञ्चनपुर । कञ्चनपुरमा पहिलो पटक ई–पासपोर्ट (विद्युतीय राहदानी) प्रयोगमा ल्याइएसँगै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ई–पासपोर्ट बनाउनेको घुइँचो लाग्न थालेको छ । 

अन्तर्राष्ट्रियस्तरमै निकै भरपर्दो, विश्वासिलो र सुरक्षित मानिएको विद्युतीय राहदानी कञ्चनपुरमा पुस १९ गते देखी प्रयोगमा ल्याइएको थियो । साढे २ महिनाको अवधिमा १ हजार १ सय ६० जनाले ई–पासपोर्ट  बनाएका प्रशासनले जनाएको छ ।

राहदानी फाटका नायव सुब्बा ओमकार साउदका अनुसार दैनिक ३६ जनाको कोटा रहेकोमा हप्ताको एकदिन शुक्रवार पासपोर्टका लागी आवेदन खुला गरिएको हुन्छ । ई–पासपोर्ट सेवाका लागी जिल्ला प्रशासन कार्यालयमा तिन जना कर्मचारी खटिएका छन् । सुरुमा काम सिक्नमा भएको ढिलाइले ढिलासुस्ती भएकोमा अहिले धमाधम ई–पासपोर्ट का लागी आवेदन सङ्कलन भइरहेको नायव सुब्बा साउदले बताउनु भएको छ ।  

सर्वसाधारण जनतालाई दिइने पासपोर्ट चकलेटी रङ्गको बनाइएको छ । जसका लागि उनीहरूले साबिककै ५ हजार रुपैयाँ तिरे पुग्छ । विद्युतीय राहदानीका लागि निवेदन दिँदा राष्ट्रिय परिचयपत्र वा सोको नम्बर आवश्यक पर्ने हुँदा जिल्ला प्रशासन कार्यालयमार्फत उक्त नम्बर लिई राहदानी विभागको वेबसाइटमा गई आवेदन दिनुपर्छ । विद्युतीय राहदानी सेवा सुदूरपश्चिम प्रदेशको हाल दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै लागू गरिएको छ । सो सेवा हाललाई जिल्लाभित्रका स्थायी बासिन्दाले मात्रै प्रयोग गर्न पाउने छन् ।

हाल काठमाडौँमा अत्याधिक भिड रहेको हुँदा १५ दिनभित्र आइपुग्ने पासपोर्ट २५ दिन जति लागिरहेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button