तपाईँ सुन्दै हुनुहुन्छः

बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया

काठमाडौँ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी मनोगत रुपमा नगरी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिनुभएको छ ।

बीमा समितिको आयोजनामा आइतबार ललितपुरमा जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले बीमा दाबी भुक्तानी जानेर बुझेर पनि समयमै नदिएमा दाबी भुक्तानी अवधिपछि दिन गन्ती गरेर बीमा रकमको व्याज समेत दिनुपर्ने व्यवस्था गरिने बताउनुभयो ।

उहाँले देशमा बीमा क्षेत्रको समग्र विकास एवम् बिस्तारका साथै सीमितको हित रक्षा गर्नु बीमा समितिको मुख्य कार्य भएको उल्लेख गर्नुहुँदै बीमा सम्बन्धी ऐन, नियम र निर्देशिका तथा बीमा समितिको निर्देशन अनुसार राम्रो काम गर्ने कम्पनीलाई प्रशंसा पत्र दिने र कानुन उल्लङ्घन गरी गलत काम गर्नेलाई भने कारबाही गरिने स्पष्ट गर्नुभयो ।

उहाँले बीमा समितिले राष्ट्रिय बीमा नीति ल्याउन सरकारलाई आग्रह गर्दै आएको र त्यसको मस्यौदा समेत बुझाइसकेको उल्लेख गर्नुहुँदै त्यसलाई आवश्यक छलफल गरेर अघि बढाउन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग तयार रहेको जानकारी दिनुभयो ।

“आगामी १० वर्षपछि बीमाको रकम बैङ्कको भन्दा पनि बढी हुन्छ, अब हरेक विषयमा बीमा केन्द्रित हुनुपर्छ र बीमा रकमको लगानी सुनिश्चित गर्नुपर्छ ।” उहाँले भन्नुभयो ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूका लागि एकीकृत सफ्टवेयर निर्माण गर्ने कार्यको समितिले नेतृत्व गर्ने बताउनुहुँदै बीमा कम्पनीका कर्मचारी, बीमा अभिकर्ता लगायतलाई सक्षम बनाउनका लागि तालिम दिन इन्सुरेन्स इन्स्टिच्युट नेपाललाई अनुमति दिइएको जानकारी दिनुभयो ।

उहाँले समितिले  एकीकृत निर्देशिका चाँडै ल्याउने जानकारी दिनुहुँदै बीमा दाबी भुक्तानी छिटोभन्दा छिटो गरेर बीमा प्रतिको विश्वास कायम राख्न आग्रह गर्नुभयो ।

बीमा समितिका निर्देशक पूजन ढुङ्गेल अधिकारीले बीमालेख र बीमाङ्कीय सम्बन्धी जानकारी दिनुभयो ।बीमा समितिका बीमाङ्की प्रेक्षा माथेमाले बीमाङ्की मूल्याङ्कन सम्बन्धी जानकारीमूलक तथ्याङ्क  र बजार विश्लेषण सहितको जानकारी दिनुभयो 

बीमा समितिका निर्देशक सुशीलदेव सवेदीले बीमा कम्पनीहरूमा देखिएका कैफियतहरू र सुधारका कदमका बारेमा चर्चा गर्नुभयो ।

बीमा समितिका निर्देशक दिनेश कुमार लालले सञ्चालन गर्नुभएको कार्यक्रममा जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button