तपाईँ सुन्दै हुनुहुन्छः

हुम्ला अस्पतालमा विशेषज्ञ सेवा प्रदान गर्दै कर्णाली प्रतिष्ठान 

जुम्ला । कर्णाली प्रदेशको दुर्गम हुम्ला जिल्ला अस्पतालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नियमित विशेषज्ञ सेवा दिने भएको छ । 

दुर्गम हुम्लामा जुम्लाबाट विशेषज्ञ डाक्टर पठाएर जटिल खालका शल्यक्रियादेखि अन्य विशेषज्ञ सेवा सञ्चालन हुने भएको हो । 

हुम्लामा विशेषज्ञ सेवा निरन्तरताका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच सम्झौता भएको छ । 

एक महिना अघिदेखि हुम्ला जिल्ला अस्पतालमा सुरु भएको विशेषज्ञ सेवालाई निरन्तरता दिने उद्देश्यले मन्त्रालय र कर्णाली प्रतिष्ठानबीच शुक्रवार दुई पक्षीय सम्झौता भएको हो । 

कर्णाली प्रतिष्ठान मन्त्रालयकाबीच भएको सम्झौता एक आपसमा शुक्रवार आदान प्रदान भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मङ्गल रावलले बताउनुभयो ।
 “हुम्लामा कर्णाली प्रतिष्ठानबाट एमडीजीपि डा.क्रिशान्त भण्डारी पठाएर हुम्ला जिल्ला अस्पतालमा एक महिना अघिदेखि विशेषज्ञ सेवा सुरु भइरहेको छ । थप दुई जना विशेषज्ञ डाक्टर पठाउने र विशेषज्ञ सेवालाई निरन्तरता दिने उद्देश्यले मन्त्रालयबीच सम्झौता भएको छ । आगामी वैशाखभन्दा अगाडी नै जुम्लाबाट विशेषज्ञ डाक्टर हुम्ला पठाइने छ ।”, डा. रावलले भन्नुभयो ।

हुम्लामा सर्किजल सेवा, ओटी सेवा र गाइनोलोजीष्ट लगायतका विशेषज्ञ सेवा सञ्चालनका लागि थप दुईसहित तीन जना एमडीजीपि डाक्टर पठाइने उपकुलपति डा.रावलले जानकारी दिनुभयो । 

जटिल प्रकारका शल्यक्रिया हुम्लामै गर्न, जटिल बिरामी रेफर रोक्न स्थानीयलाई जिल्लामै सस्तोमा विशेषज्ञ स्वास्थ्य सेवा दिने मन्त्रालयको लक्ष्य अनुसार कर्णाली प्रतिष्ठानले हुम्ला जिल्ला अस्पतालमा सेवा दिने तयारी गरेको छ । 

देशभरका प्रतिष्ठानले दुर्गम जिल्लामा विशेषज्ञ सेवा दिनुपर्ने मन्त्रालयको योजना अनुसार कर्णाली प्रतिष्ठानले हुम्ला जिल्ला रोजेको हो । 

अब दुर्गम हुम्लाका नागरिकले हुम्लामै जटिल खालका शल्यक्रियादेखि उपचार पाउने छन् । भने महँगो खर्च गरेर जुम्ला,सुर्खेत नेपालगन्ज काठमाडौँ लिएर उपचार गराउनु पर्ने बाध्यताबाट हुम्ला बासी मुक्त हुने छन् । 

कर्णाली प्रतिष्ठान कर्णालीको मात्र नभई पश्चिम नेपालकै भरोसा केन्द्रका रुपमा विकास भइरहेकोले सोही अनुसार प्रतिष्ठानले आफ्नो सेवा, शिक्षा तथा अनुसन्धानको दायरालाई पनि बढाउँदै गएको छ । 

हुम्ला जिल्लामा विशेषज्ञ सेवा सञ्चालनका लागि मन्त्रालयका प्रमुख विशेषज्ञ डा.गुणराज लोहनी, नीति तथा योजना महाशाखा प्रमुख डा.कृष्ण पौडेल लगायतका व्यक्तिले सहयोग गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button