रानीजमरा कुलरीया सिँचाइ आयोजनाको मूल नहर निर्माणको काम पूरा
टीकापुर कैलाली । कैलालीस्थित निर्माणाधीन रानीजमरा कुलरिया सिँचाई आयोजना मूल नहर निर्माणको काम सम्पन्न भएको छ ।
निर्माण कार्य सुरु भएको १५ वर्षमा आयोजनाको मूल नहर निर्माणको काम पूरा भएको हो ।
आयोजनाको ८ दशमलव ८५ किलोमिटरको मूल नहर, १४ दशमलव ६५ किलोमिटरको लम्क तर्फ र ११ किलोमिटरको रानीजमरा कुलरीया क्षेत्रको मूल नहरको काम पूरा भएको रानीजमरा कुलारिया सिँचाइ आयोजना टीकापुरका सूचना अधिकारी प्रेम लासिवाले बताउनुभयो ।
सिँचाई आयोजनाको सम्पूर्ण काम सम्पन्न भएपछि कैलालीको ३८ हजार ३ सय हेक्टर क्षेत्रमा सिँचाइको सुविधा पुग्नेछ । यसअघि तीन वटा परम्परागत कुलाबाट सिँचाई गर्दै आइरहेका कैलालीका पूर्वी क्षेत्रका नागरिकहरूलाई सिँचाई आयोजना सम्पन्न भएपछि सिँचाई गर्न सजिलो हुने भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको रानीजमरा कुलारिया सिँचाई आयोजनाबाट ४.७१ मेगावाट विद्युत् समेत उत्पादन हुने भएको छ । असारसम्म जलविद्युतको काम सक्ने गरी अहिले उपकरण जडान गर्न थालिएको आयोजनाले जनाएको छ ।
आर्थिक वर्ष २०६६/०६७ बाट सुरुवात भई आर्थिक वर्ष २०८०/०८१ सम्म सक्ने लक्ष्य रहेको आयोजनाले २७ अर्ब, ७० करोड रुपैयाँ खर्च गर्न लक्ष्य लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्