तपाईँ सुन्दै हुनुहुन्छः

मिथिला नाट्य कला परिषद्को बहुचर्चित महामूर्ख सम्मेलन आज 

जनकपुरधाम । मिथिला नाट्य कला परिषद्ले आयोजना गर्दै आएको दुई दिने होरी महोत्सव अन्तर्गत आज महामूर्ख सम्मेलनको आयोजना गरेको छ । 

जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा महामूर्ख सम्मेलनको आयोजना भव्य कार्यक्रमका बीचमा शुरु भएको छ । उक्त महामूर्ख सम्मेलनमा मधेश प्रदेश, देश तथा मिथिलाञ्चल क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई महामूर्ख, मुर्खाधिराज, पटमूर्ख जस्ता दर्जनौँ उपाधिहरू विशिष्ट शैलीमा प्रदान गर्ने चलन रहेको छ । 

महामूर्खको उपाधि ग्रहण गर्नेलाई निक्कै गर्भको अनुभूति हुने गरेका छन् । गत वर्ष मात्र नेपालका चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई महामूर्खको उपाधि प्रदान गरिएकोमा यस वर्ष पनि नाम चयन भए पनि गोप्य राख्ने काम भएको छ । यस वर्ष पनि विभिन्न विशिष्ट व्यक्तिहरू महामूर्खको उपाधिका लागि चर्चामा रहेका छन् । 

पूर्व प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, भाषा वैज्ञानिक डा. रामअवतार यादव, डा. रामदयाल यादव तथा मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा व्यथितको नाम चर्चामा रहेको छ । 

महामूर्ख सम्मेलनमा विभिन्न प्रकारको होरी सम्बन्धी, गीत, सङ्गीत तथा नृत्यका साथै जोगिरा पनि प्रदर्शन गर्ने चलन रहेको छ । यसका साथै मिथिला नाट्य कला परिषद्का कलाकारहरूले हास्य परिहास तथा हस्सी ठट्टा पनि गर्ने गरेका छन् । राजनीतिक विकृति एवं विसङ्गतिहरू बारेमा कलाकारहरूले निक्कै व्यंगात्मक शैलीमा प्रदर्शन गर्ने गरेका छन् । 

मिथिलाञ्चल क्षेत्रमा मध्यमा मिथिला परिक्रमा अन्तर्गत अन्तरगृह परिक्रमा सकेपछि होली खेल्ने चलन भएकाले भोलि शनिवार मात्र होली खोल्ने भएको छ । त्यसो त केही जिल्लाहरूमा आज पनि होली पर्व हर्षोल्लास पूर्वक मनाइँदै छ । 

हिजो मात्र मिथिला नाट्य कला परिषद् होरी महोत्सवको आयोजना गरेको छ । जसमा होरी गायन, कविता वाचन, जोगीरा गायन जस्ता कार्यक्रमहरूको आयोजना गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button