सरकारले तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्छ : मन्त्री कार्की

भोजपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शेरबहादुर देउवा नेतृत्वको सरकारले वैशाख ३० गते नै निर्वाचन गर्ने बताउनुभएको छ ।
भोजपुरको उत्तर षडानन्द नगरपालिका वडा नम्बर ७ मा भारत सरकारको सहयोगमा निमार्ण भएको १५ शय्या क्षमताको महात्मा गान्धी मेमोरियल अस्पतालको नवनिर्मित भवनको उद्घाटनका गर्नुहुँदै मन्त्री कार्कीले तोकिएको समयमा नै निष्पक्ष र धाँधलीरहित रुपमा अहिलेको सरकारले निर्वाचन सम्पन्न गर्ने बताउनुभयो ।
भारतीय राजदूतावास काठमाडौँका नियोग उपप्रमुख नामग्य सी.खम्पासहित अस्पताल उद्घाटनका लागि आउनुभएका मन्त्री कार्कीले नेपालमा जलश्रोत, कृषि, पर्यटनको सम्भावना भएकाले सबै एकजुट भएर विकासलाई अगाडी बढाउन सकिएमा नेपाललाई १० वर्षभित्र एसियाको धनी देशका रुपमा विकसित गर्न सकिने बताउनुभयो ।
देशबाट गरिबी अन्त्य हुनु जरुरी रहेको बताउनुहुँदै नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले भारत लगायतका छिमेकी मुलुकहरूको सहयोग लिएर समाजबाट गरिबी र बेरोजगार हटाउनुपर्ने बताउनुभयो ।

उहाँले भारतले सुरुदेखि नै नेपालको विकासमा मद्दत गर्दे आइरहेको बताउनुहुँदै विश्वका सबै मुलुकबाट सहयोग र सद्भाव लिनुपर्ने बताउनुभयो ।
भारतीय राजदूतावास काठमाडौँका नियोग उपप्रमुख नामग्य सी.खम्पाले अस्पतालका लागि १ वटा एम्बुलेन्स सहयोग गर्ने बताउनुभयो ।
उहाँले भारत नेपालको साझेदार भएको बताउनुहुँदै अस्पताल बनेपछि जनताले सुविधा पाउने बताउनुभयो । पहिलो पटक भोजपुरको भ्रमण गर्न पाएकोमा उहाँले खुसी समेत व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्