नक्कली चाबीको प्रयोग गरी चोरी गर्ने युवती पक्राउ

पाल्पा । पाल्पामा नक्कली चाबीको प्रयोग गरेर चोरी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली चाबीसहित चोरी कार्यमा संलग्न भएको आरोपमा प्रहरीले तानसेन–६, बसन्तपुर बस्ने वर्ष २६ की वर्षा भाटलाई पक्राउ गरेको हो । उनलाई तिनाउ–३, झुम्साबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साथै प्रहरीले विभिन्न कम्पनीका चार थान मोबाइल सेट, विभिन्न तालामा लाग्ने ११ वटा झुप्पाका ४८ थान चाबी, पहेँलो लकेट, १६ हजार भन्दा बढी रकम बरामद गरेको छ । तानसेन–३, भगवती टोल र बसन्तपुरमा डेरा गरी बस्ने २१ वर्षकी सुमित्रा न्यौपाने र ३८ वर्षकी मिना थापाले दिएको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा भाटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी भाट फरक क्षमता भएकी सुन्न, बोल्न नसक्ने युवती रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैँयाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्