तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा र बारामा प्रमुख दलहरू चुनाव केन्द्रित अभियानमा जुटे

वीरगंज । स्थानीय तहको चुनाव आउन दुई महिना मात्रै बाँकी रहेको अवस्थामा पर्सा, बारा जिल्लामा प्रमुख राजनीतिक दलहरू चुनाव केन्द्रित अभियानमा जुटेका छन् । 

नेपाली काँग्रेसले आइतबारदेखि घरघर पुग्ने अभियान सुरु गरेको छ । एक महिनासम्म चल्ने अभियानमा गाउँ घरमा पार्टीको अवस्था बुझ्ने र त्यसपछि चुनावी रणनीति बनाउने काँग्रेसले जनाएको छ । 

पर्सामा काँग्रेसले चुनाव केन्द्रित कार्यक्रम अन्तरगत १४ वटै पालिकाका प्रत्येक टोल टोलमा खटिने वडा प्रतिनिधिको छनौट सम्पन्न गरेको र होली लगतै गाउँ पस्ने अभियान शुरु हुने नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले बताउनु भयो । 

चुनावी अभियानलाई तताउन गत फागुन २६ गते प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा वीरगंज आउनु भएको र सो अवसरमा पोखरीया नगरपालिकाका नगर प्रमुख दीप नारायण रौनियार सहित विभिन्न दलका नेताहरूलाई काँग्रेसमा प्रवेश गराउनु भएको थियो । 

यता एमालेले पर्साले पनि चुनाव केन्द्रित कार्यक्रम थालिसकेको छ । एमालेका केन्द्रीय नेताहरू केही दिनदेखि मधेशमा व्यस्त देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ बारा, पर्सामा आएर चुनावी कार्यक्रममा सहभागी हुनु भएको छ । वीरगंजमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले जसपाका नेता एवं वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी लगायतका नेताहरूलाई एमालेमा प्रवेश गराउनु भएको छ । 

चुनावी अभियान अन्तरगत यस पटक एमालेले मधेश प्रदेशलाई उच्च प्राथमिकतामा राखेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले पनि पर्साको ग्रामीण क्षेत्रमा चुनाव केन्द्रित अभियान थालिसकेको छ । यता नेकपा एकीकृत समाजवादीले पनि ठाउँ ठाउँमा चुनाव केन्द्रित अभियान सुरु गरेको छ । पार्टीका अध्यक्ष माधव नेपालले गत फागुन २८ गते गृह जिल्ला रौतहटबाट चुनावी अभियान शुरु गर्नु भएको छ । 

रौतहटमा विभिन्न पार्टी परित्याग गरी समाजवादीमा प्रवेश गर्नेलाई नेता नेपालले स्वागत गर्नु भएको थियो । जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूले पनि औपचारिक रुपमा पर्सा, बारा,रौतहटमा चुनाव केन्द्रित अभियान सुरु गरेका छन् । 

लोसपाका अध्यक्ष महन्थ ठाकुरले आइतबार बारामा विभिन्न पार्टी  परित्याग गरी लोसपामा प्रवेश गर्नेहरूलाई स्वागत गर्नु भएको थियो । 

सत्तारुढ गठबन्धनभित्र चुनावी तालमेलको कुरा जोडदार रुपमा उठेको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले वीरगंजमा आयोजित कार्यक्रममा गठबन्धनका दलहरू बीच सहमति र तालमेल गरेर निर्वाचनमा जाने हुँदा गठबन्धन विरुद्ध नबोल्न काँग्रेसका कार्यकर्ताहरूलाई निर्देशन दिनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button